धरान : धरान रङ्गशालामा जारी २६ औँ बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँले झापा ११ लाई टाई ब्रेकरमा ३-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
आज बिहीबार भएको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाई ब्रेकरमा पुग्या ।
टाईब्रेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनलमा पुर्‍याएको  झापाका लागि प्रशान्त लक्सम मात्र गोल गर्न सफल भए ।
खेलको पहिलो हाफमा चर्च ब्याइजले २-१ को अग्रता लिएको थियो। खेलको ३ मिनेटमा मिलन राई र १७ औँ मिनेटमा यभियामी फुकुनेले गोल गरे। 
झापाका लागि अभिषेक लामाको आत्मघाती गोलले पहिलो हाफ २–१ मा सकियो । दोस्रो हाफमा ६१ औँ मिनेटमा आरोन थापा मगरले फ्री किक मार्फत गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याए । 
चर्च ब्वाइजकालागि टाई ब्रेकरमा एरिक विष्ट, रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरे। उत्कृष्ट प्रदर्शन गर्दै तीन प्रहार रोकेका प्रमिजय गच्छदार म्यान अफ दि म्याच घोषित भए र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
शनिवार हुने फाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौँ र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबिच उपाधिको फागुन २ गते प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।