इटहरी : मोरङ क्षेत्र नम्बर ६ नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाको उम्मेदवारीले चर्चामा छ । नेपाली राजनीतिकै प्रभावशाली मानिएका कोइराला संविधान सभा सदस्य मात्र हैनन् शान्ति प्रक्रियाका महत्त्वपूर्ण हिमायती समेत हुन् ।  
नेपालको लोकतान्त्रिक आन्दोलनको जग मानिएको कोइराला निवासका संरक्षक हुन् डाक्टर कोइराला । नेपाली राजनीतिको अर्थपूर्ण घर हो कोइराला निवास । जसलाई काँग्रेस जनहरूले तीर्थस्थलकै रूपमा मान्ने गरेका छन् । बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले स्थापना गरेको निवासबाट नेपाली राजनीतिका दुरगामी निर्णयहरू भए । त्यही ऐतिहासिक निवास भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगो लाग्यो ।  
आगलागीमा निवास मात्र जलेन काँग्रेस कार्यकर्ताले आस्थाको रूपमा मानेको धरोहर नै ढल्यो । सोही आन्दोलनको पराकम्पन स्वरूप नेपाली काँग्रेसमा विशेष महाधिवेशन माग भयो । फाल्गुन २१ गते निर्वाचनको मिति तय भइसकेको अवस्थामा चुनाव अगाडी नै महाधिवेशन गर्नुपर्ने मत पार्टी भित्र बलियो बन्यो । कोइराला समेत नियमित नभए विशेष महाधिवेशन गर्नै पर्ने पक्षमा उभिए । 
सोही अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे । केन्द्रीय कार्यालयमा महाधिवेशनमा प्रस्ताव दर्ता भए पनि केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन निर्णय गरेन । महाधिवेशनको मितिमा लामो समय विवाद चुलियो । केन्द्रीय समितिले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि कोइरालाले पनि बहुमतले भनेपछि मान्न बाध्य भएको प्रतिक्रिया दिँदै सोही लाइनमा उभिए । 
उता तत्कालीन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले विशेष महाधिवेशन बोलाए । ६४ प्रतिशत प्रतिनिधिको समर्थनमा थापा सभापति चयन भए । हाल थापाकै नेतृत्वमा नेपाली काँग्रेस चुनावी मैदानमा छ । बदलिएको काँग्रेसले मात्र देश बदल्न सक्छ भन्ने मुद्दा लिएर कार्यकर्ताहरू चुनावी मैदानमा छन् । 
नेतृत्व बदलिएसँगै सभापति थापालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडी बढाउने काँग्रेसले निर्णय गरेको छ । काँग्रेसको यो निर्णय र विशेष महाधिवेशनले भने कोइरालालाई दबाबमा पारेको छ । २०७९ को निर्वाचनमा भावी प्रधानमन्त्री र पार्टी सभापति भनेर चुनावी अभियानमा लागेका कोइराला भारी मतान्तरका साथ विजयी भएका थिए । नेपाली काँग्रेस भित्रको प्रतिपक्षी भूमिकामा रहेका उनीमाथि मतदाताको विश्वास थियो । 
यस पटक कोइरालाको लागि भावी प्रधानमन्त्री र सभापतिको मुद्दा समेत कमजोर बनेको छ । विशेष महाधिवेशनमा नखुलेको भन्दै कार्यकर्ताको दबाब देखि युवा प्रतिको मतदाताको आकर्षणले समस्यामा छन् कोइराला । 
अर्कातर्फ जेनजी आन्दोलन पछि युवा नेतृत्वको मागले समेत कोइरालामाथि दबाब सृजना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबीना आचार्य मोरङ ६ कि स्थानीय भए पनि अपरिचित उम्मेदवार हुन् । रास्वपा प्रति नागरिकको आकर्षणले आचार्यले मत पाउने भएकी छिन् । राजनीतिक इतिहास नभएपनि रास्वपाले प्रधानमन्त्रीको रूपमा अगाडी सारेका बालेन्द्र साहको प्रभावले मतदाता आकर्षित भएका छन् । 
रुवीनालाई व्यक्तिगत रूपमा चिन्ने मतदाता एकदमै कम छन् । उनको क्षमता र चुनावी मुद्दामा समेत नागरिकले ध्यान दिएका छैनन् । यसअघि सङ्घीय र प्रदेश सरकारबाट विभिन्न योजना ल्याएका कोइराला भने प्रश्नको घेराबन्दीमा परेका छन् । चुनाव जितेपछि नफर्किएको गुनासो गर्दै मतदाताले मत परिवर्तन गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएका कोइरालालाई एक सामान्य अपरिचित उम्मेदवारले टक्कर दिइरहेकी छिन् । 
अर्कातर्फ नेकपा एमालेका उम्मेदवार विनोद ढकाल पितृ शोकमा छन् । चुनावी अभियानमा घुम्न नपाएका उनलाई बलियो सङ्गठनको आस छ । ढकाल एमाले भित्रको आन्तरिक कलह र अध्यक्ष केपी शर्मा ओली प्रतिको नागरिकको आक्रोशको सिकार बन्न सक्ने देखिएको छ । ढकाल र कोइराला प्रतिस्पर्धी भएपनि नयाँ उम्मेदवारले दुवै नेतालाई सकस परिरहेको छ । 
एकलाख ३७ हजार ८३२ मतदाता रहेको मोरङ ६ मा ७० हजार ६१७ पुरुष, ६७ हजार २१४ महिला र अन्यमा १ जना मतदाता रहेका छन् । निर्वाचनका लागि ३९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र तोकिएको छ । विराटनगर महानगरपालिकाका ७ वटा ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा छन् । बुढीगंगा गाउँपालिकाका १ देखि ७ वडा र सुन्दरहरैंचा नगरपालिकाका २ देखि ७ नम्बर वडाहरू सोही क्षेत्रमा पर्छन् ।

shekhar-koirala-2