इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित जनता बस्तीमा चुनावी चर्चा व्यापक छ । जनता बस्तीका जनता निर्वाचनको परिणामको लख काटिरहेका छन् । यसपटक उम्मेदवार हेर्न र यसपटक पार्टी नहेर्ने जस्ता तर्क चिया र भट्टी पसलका दैनिकी नै हुन् ।

२०४८ सालदेखि बसोबास सुरु भएको जनता बस्तीमा मात्र ३२ सय मतदाता छन् । यति धेरै मतदाता भएको सिङ्गो बस्तीको समस्या भने चुनावी मुद्दा बन्न सकेको छैन । १४ वटा टोलबिकास संस्था रहेको जना बस्तीमा एउटा माध्यमिक विद्यालय छ । इलाका प्रहरी कार्यालय इटहरी मातहतको प्रहरी चौकी स्थापना भएको छ । एउटा बजारको लागि आवश्यक सम्पूर्ण पूर्वाधार बस्तीमा छ । तर बस्तीका जनतासँग धनी पुर्जा छैन ।

जनता बस्तीको समस्या समाधानको लागी टोलबिकासका प्रतिनिधि सहित २३ सदस्यीय बस्ती व्यवस्थापन समिति गठन भएको छ । सो समितिले ४ सदस्यीय सचिवालय समिति बनाएको छ । जसले सरकार र रिजाल्स क्यानिङ कम्पनीसँग संवाद र सहकार्य गरिरहेको छ । जनता बस्तीको अपरिवर्तनीय एकतालाई अक्षुर्ण राख्नेगरि काम भइरहेको समितिका सचिव देवी प्रसाद सिवाकोटीले बताए ।

२०२३ सालमा भूमिसुधार नीति आएसँगै नगेन्द्र प्रसाद रिजालको नाममा रहेको सो जमिन हदबन्दीभन्दा बढी देखिएकाले स्थानीयले उपभोग गरेका हुन् । हदबन्दी माथिको जमिन सरकारको स्वामित्वमा हुने भएपनि नगेन्द्र प्रसाद रिजालबाट अहिले रिजाल्स क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रीज) को नाममा छ । फलफूल सम्बन्धी उद्योग सञ्चालनका लागी कम्पनीले हदभन्दा बढी जग्गा राखेको थियो । उद्योग सञ्चालनको लागि उपयोग भएको जग्गा सट्टाभर्ना गरेर विक्रीको लागि नेपाल सरकारले खुल्ला गरेको विषय अहिले पनि अनुसन्धानकै क्रममा छ ।

२०४८ का स्थानीय जनप्रतिनिधिले सहयोगमा जनता बस्तीमा बसोबास सुरु भएको थियो । उद्योग बाहेकको ४२ विगाह जग्गामा भने बस्ती बसेको छ । दुई पुस्ताले उपभोग गरिसकेको जमिनमा नागरिकको भने स्वामित्व छैन । सरकारले कानुनी पाटो नमिलाउँदा र स्थानीय नेतृत्वले समन्वय नगर्दा बस्तीका जनता बिलखबन्दमा परेका हुन् ।

त्यसयता प्रत्येक निर्वाचनमा धनी पुर्जा दिने बाचा गर्दै भोट माग्न आउने राजनीति दलहरू अहिले चुनाव त्यो विषय उठान समेत गरेका छैनन् । फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र दलहरूले सो विषय उठान नै गरेनन् । प्रतिनिधिसभा मार्फत केही कानुनी व्यवस्था मिलाएर सरकारबाट निर्णय गराउन सकिन विषयमा समेत दलहरू मौन भए । चुनावी मुद्दा नभएको जनता बस्ती भने निर्वाचन परिणामको लागि निर्णायक मानिन्छ ।

सुनसरी क्षेत्र नम्बर २ मा पर्ने जनता बस्तीमा यसपटक नेपाली काँग्रेसका राजीव कोइराला, नेकपा एमालेका सुजन लामा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट लालविक्रम थापा लगायत नेताले भोट मागेका छन् । भोटमा बस्तीको खास समस्या पहिल्याउन नसकेका उम्मेदवार आफै बिलखबन्दमा छन् ।

इटहरी उपमहानगरपालिकाले केही नीतिगत निर्णय गरेको कारण स्थानीयलाई राहत पुगेको छ । घर नम्बर उपलब्ध गराउने देखि बाटो स्कुल, सामाजिक संस्थाका गतिविधिको अभिलेखीकरण गरेको छ । घरधुरी दस्तुर लिने देखि जमिनको भोग निस्साको रूपमा प्रमाणीकरण गर्ने कामलाई उपमहानगरले अगाडी बढाएको छ । जसले स्थानीयलाई व्यापार व्यवसाय देखि अन्य दैनिकीमा सहज भएको हो ।

janata basti 3