वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने नगरपालिका योजना बनाएर अगाडि बढेको छ ।

वर्षौदेखि लालपुर्जाको आसमा रहेका नगरबासीलाई पुर्जा वितरण गर्न नगरपालिकाले बिहीबार राष्ट्रिय भूमि आयोग नगरस्तरीय समन्वय समितिका संयोजक एव नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा राष्ट्रिय भूमि आयोग सुनसरी अध्यक्ष भगीरथ खत्वे, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख विष्णु प्रसाद सिटौला, नापी कार्यालय सुनसरी प्रमुख सञ्जीवकुमार साह सहित राष्ट्रिय भूमि आयोगका पदाधिकारी, विज्ञ सदस्य, सर्वदलीय समन्वय समितिका सदस्यहरू, प्राविधिकहरूको छलफलबाट पुर्जा बितरणकालागि आवश्यक छलफल र योजना बनाइने निर्णय लिएको हो ।

यस अगाडि नगरपालिकाले लालपुर्जा वितरणको काममा वन कार्यालय र नापी शाखाको कार्यालय बाधक बनेको भन्दै राष्ट्रिय भूमि आयोग र वराहक्षेत्र नगरपालिकाले असन्तुष्टि व्यक्त गरेको थियो ।

१० वर्ष उपभोग र उपयोग गरेको जमिनको लालपुर्जा दिने राष्ट्रिय भूमि आयोगको प्रस्ट नीति भए पनि सुनसरीमा वन कार्यालय र नापी शाखाले वनको जमिन भन्दै लालपुर्जा वितरण गर्ने राष्ट्रिय भूमि आयोग र वराहक्षेत्र नगरपालिकाको योजनामा बाधक बनेको राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेले बताए ।

वराहक्षेत्रका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने राष्ट्रिय भूमि आयोगको प्राथमिकतामा परेर तीव्र रूपमा काम भए पनि वन र नापी शाखाबाट आवश्यक काम हुन नसक्दा लालपुर्जा वितरण गर्न रोकिएको नगर प्रमुख कार्कीले बताए । उनले भने-'नगर स्तरीय समन्वय समितिबाट आवश्यक सहयोग, सहजीकरण भईरहेको छ, भूमि आयोग पनि वराहक्षेत्रमा लालपुर्जा वितरण गर्न चाहन्छ तर भूमि आयोग सँग नीति बाजिएको भन्दै वन कार्यालय बाधक बनिरहेको छ ।'

बिहीबार नगर प्रमुख कार्कीको अध्यक्षतामा बसेको भूमिहीन तथा सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधान समन्वय समिति बैठकमा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, सदस्य अमृत पाण्डे, कमला थापा, विज्ञ सदस्य, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख विष्णु प्रसाद सिटौला, नापी कार्यालय सुनसरी प्रमुख सञ्जीवकुमार साह, नगर स्तरीय समन्वय समितिका सदस्यहरू हरिकृष्ण भट्टराई, राजेन्द्र कार्की, लंकमान बिक, अर्जुन भट्टराई, चन्द्र मगर, राजकुमार गौतम लगायतको उपस्थिति रहेको थियो ।