धरान : धरानमा सामाजिक अभियान्ताको रुपमा आफ्नो परिचय स्थापित गरेका हर्क साम्पाङ यति बेला स्थानीय तहको निर्वाचनका लागि चुनावी दौडमा छन् । 

साम्पाङ ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्रबाट धरानको मेयरमा उम्मेदवारी दिएर चुनाव चिन्ह लौरो लिएर धराने जनताको घर दैलोमा पुगेर मत मागिरहेका छन् । साम्पाङको टोलीले उनी सहित स्वतन्त्रबाट धरान-१५ का दत्तकुमार लिम्बु उपमेयर र ७ वटा वडामा वडाध्यक्षको उम्मेदवारी दिएका छन् । साम्पाङले आफूले निर्वाचनका चुनाव चिन्ह पाएपछि जमिन ढोगेर घर दैलो अभियान सुरु गरेको बताए । 

मंगलबार बिहान धरान-१२ मा घर दैलो कार्यक्रममा भेटिएका स्वतन्त्रबाट मेयरका उम्मेदवार हर्क साम्पाङले आफ्नो उम्मेदवारी धराने जनताको लागि भएको बताए । उनले भने म एउटा पात्रा हुँ, मेरो उम्मेदवारी धराने जनताको आशा र भरोसा भएको भन्दै यस पटक आफूले धराने जनताको ४० हजार मत ल्याएर विजयी हुने दाबी पनि गरे ।  

घर दैलो कार्यक्रममा आफूले मतदाताहरूलाई ठुलो सपना नवाड्ने बताउँदै धरान त्यसै समृद्ध सहर हो । यहाँ खानेपानीको आवश्यकता भएकोले मेरो पहिलो मुद्दा नै धरानको खानेपानी समस्या समाधान गर्ने हो। साम्पाङले भने धरानमा पानी विनाको डेरा भाडामा बस्नुपर्ने बाध्यता र पानीको धारा विनाको घर बनाउन धरानवासी बाध्य छन् । त्यसैले अबको निर्वाचनमा आफ्नो जीत पछि यी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गरेर धराने जनतालाई देखाउने बताए । 

धरानमा रहेको देशकै ठुलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि विभिन्न बेतिथिले चुर्लुम्म डुबेकोले बीपी सुधार्ने आफ्नो अर्को मुद्दा हुने बताउँदै साम्पाङ्ले लौरो चुनाव चिन्हमा मत दिई धरान बनाउने अभियानमा जुट्न सबै धरानेलाई आग्रह समेत गरे । साम्पाङ केही दिन देखि धरानका विभिन्न चौक र टोलमा पुगेर मत मागिरहेका छन् । अहिले भने चुनाव चिन्ह सहित घर दैलो अभियानमा खटिरहेका छन्।