धरान : आज शुक्रवार बिहान देखी सबै रुटमा चल्ने लामो–छोटो दुरीका साना ठुला सार्वजनिक सवारी साधन धरान–८ निर्मित नयाँ बसपार्कबाट चल्न थालेका छन् । बसपार्क असार १३ गते कावा मेयर अइन्द्रबिक्रम बेघाले उद्घाटन गरेका थिए ।
सबै बस। मिनिबस र जीपका सबै टिकट काउन्टर हिजो बिहीबार साँझै स्थानान्तरण गरिएको थियो । काउन्टरहरू सबै सारेपछि धरानको पुरानो भानुचोक–घण्टाघर बसपार्क क्षेत्र सुनसान बनेको छ ।
उता हिजो सम्म केटाकेटी फुटबल खेल्ने नयाँ बसपार्कमा यात्रु र सवारी साधनहरूको भिडभाड, ट्याक्सी ट्याम्पोको चाप हूवात्तै बढेको छ ।
धरान उपमहानगरपालिकाले असार १३ गते भानुचोक–घण्टाघरस्थित पुरानो बसपार्कलाई नयाँ स्मार्ट बसपार्कमा स्थानान्तरण गर्ने औपचारिक घोषणा गर्दै टर्मिनल भवन र बसपार्कको उद्घाटन गरिएको थियो ।
उद्घाटनपछि केही समय यातायात व्यवसायीले नयाँ बसपार्कबाट सेवा सञ्चालन गर्न आनाकानी गरे पनि पछिल्ला छलफल र समन्वयपछि आजबाट नियमित रूपमा सेवा सञ्चालन हुन थालेको हो।
उपमहानगरपालिकाले साउन १ गतेदेखि नयाँ बसपार्क सञ्चालनसम्बन्धी नियम कडाइका साथ लागू गरेको छ । अब पहाडी रुट, पूर्व–पश्चिम तथा विराटनगर रुटका सार्वजनिक सवारीसाधन र रातो नम्बर प्लेटका सवारीसाधनलाई भानुचोक–घण्टाघर क्षेत्रमा पार्किङ गर्न निषेध गरिएको छ ।
बसपार्कका फोकल पर्सन खगेन्द्र खतिवडाका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र धरान उपमहानगरपालिकाको समन्वयमा नयाँ बसपार्क विधिवत् सञ्चालनमा ल्याइएको हो।
करिब ५० वर्षअघि सीमित सवारीसाधनलाई लक्षित गरेर निर्माण गरिएको भानुचोक बसपार्क पछिल्ला दुई दशकमा बढ्दो सार्वजनिक तथा निजी सवारी, यात्रु र दुई पाङ्ग्रे सवारीको चापका कारण अत्यधिक भीडभाड हुने गरेको थियो।
पछिल्लो एक दशकमा एक हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा आएपछि भानुचोक–घण्टाघर क्षेत्रको ट्राफिक व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको थियो।
बसपार्क स्थानान्तरणपछि भानुचोक, देशी लाइन र पुतली लाइन क्षेत्रमा सडक खुला देखिन थालेका छन्। यसअघि पार्किङका लागि समेत स्थान अभाव हुने ती क्षेत्रमा अहिले ट्राफिक व्यवस्थापन सहज भएको स्थानीयको भनाइ छ ।
यद्यपि, बसपार्क सरेसँगै भानुचोक आसपासका होटेल,रेस्टुरेन्ट तथा अन्य व्यवसायमा ग्राहकको चहलपहल घट्न थालेको भन्दै स्थानीय व्यवसायीले व्यापारमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
नयाँ स्मार्ट बसपार्क सुनसरीको दुहबीस्थित एमआरएस–बिकोइ गीताञ्जली जेभीले सम्झौता अनुसार २०८१ असार अन्तिमसम्म निर्माण सम्पन्न गरेको हो। तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रका ८० भन्दा बढी जग्गाधनीको जग्गालाई ल्यान्ड पुलिङ प्रणाली मार्फत एकीकृत गरी २७ कट्टा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।
स्थानीय समुदायले जग्गा उपलब्ध गराउन सहमति जनाएपछि २०७८ सालमा सरकारको समपूरक अनुदानबाट ५० प्रतिशत बजेट प्राप्त भएको थियो भने बाँकी ५० प्रतिशत लागत धरान उपमहानगरपालिकाले व्यहोरेको थियो।
कुल २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनको जिम्मा इटहरीस्थित ब्रदर्स ट्रेडर्स लाई भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्कामार्फत दिइएको छ।
नयाँ बसपार्कमा एकै पटक ३८ वटा ठुला बस तथा १८ वटा जिप, ल्यान्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ।