बराहक्षेत्र : श्रावण महिनामा सञ्चालन हुने बोलबम मेलालाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिकाले चतराधाम क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ।नगरपालिकाले स्वच्छ,सफा र सुन्दर नगर निर्माण अभियानअन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्य संरक्षण गर्दै बोलबम मेलामा आउने भक्तजन,श्रद्धालु तथा तीर्थयात्रीलाई स्वच्छ र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा सम्पन्न सरसफाइ कार्यक्रममा वडा  १ का सदस्य कुमार भट्टराई, शङ्कराचार्य मठका उपाध्यक्ष गोकुल गुरागाईं, राधाकृष्ण संस्कृत गुरुकुलम् माध्यमिक विद्यालयकी प्रधानाध्यापक जमुना दाहाल, सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा, इलाका प्रहरी कार्यालय चतरा,विद्यालयका विद्यार्थी, नगर प्रहरी तथा सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत वडा  १ स्थित औलिया मठ र कुम्भ मेला क्षेत्रमा सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कार्कीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको चतराधामलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउँदै तीर्थयात्रीलाई सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

नगरपालिकाले आगामी दिनमा पनि धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरूमा नियमित सरसफाइ अभियान सञ्चालन गरी वातावरण संरक्षण र स्वच्छ नगर निर्माण अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।