इटहरी : रामधुनी नगरपालिकाका मेयर शङ्करलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ६ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो । 
विशेष अदालतले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कसुरदार ठहर गरेको हो । 
चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ । 
भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । भारतको आन्ध्र प्रदेशस्थित सिद्धार्थ रेसिडेन्सियल स्कुलबाट अध्ययन गरेको र केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको भनिएको अङ्क विवरण (मार्कसिट) वास्तविक नभएको तथ्य प्रमाणबाट खुलेको अदालतको फैसलामा उल्लेख छ । 
अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) अन्तर्गतको कसुर भएको निष्कर्ष निकालेको छ । चौधरी यसअघि कुनै कसुरमा संलग्न भएको नदेखिएको भन्दै कानुनले तोकेको न्यूनतम सजाय कायम गरेको जनाएको छ ।