धरान : रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्रनारायण चौधरीको शैक्षिक प्रमाण पत्र नक्कली भएको पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा इन्जिनियर चौधरीको शैक्षिक प्रमाण पत्र नक्कली भएको आरोप पत्र दायर गरेको छ ।

देवेन्द्र रामधुनी नगरपालिकामा इन्जिनियरको पदमा २०७३ साल देखि ४ वर्ष जागिर खाएका थिए । उनले जागिर खानका लागि भारतबाट नक्कली शैक्षिक प्रमाण-पत्र बनाएको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौंका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आफ्नो फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने गरी निज देवेन्द्रले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, भारतको दिल्लीबाट प्राप्त भनिएको शैक्षिक योग्यताको प्रमाण–पत्र झुट्टा भएको प्रमाणित हुन आएको छ ।’

निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा ९१०मा परिभाषित गरेको कसुरमा भ्रष्टाचार निवारण सजाय हुन मागदावी गरे बमोजिम आज विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरिएको विज्ञप्तिमा जनाइएको छ ।

अख्तियारले दाबी गरे अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम रामधुनीका इन्जिनियर देवेन्द्रमाथि कानुनी सजाय ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँ सम्म दण्ड जरिवाना हुनसक्छ ।

देवेन्द्रले आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/०८० सम्म रामधुनी नगरपालिकामा इन्जिनियर पदमा जागिर खाएका थिए । नगरपालिकाबाट राजीनामा दिएर हाल उनी जनता माध्यमिक विद्यालय सिंगीयामा शिक्षक छन् ।

जनता माविमा शिक्षक नियुक्ति समेत नगर प्रमुख शंकरलाल चौधरीको दबाबमा भएको आरोप लाग्दै आएको छ ।