धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले पहिलो पटक आर्थिक वर्ष २०८३/८४ का लागि २० करोड २५ लाख रुपैयाँको वार्षिक बजेट अनुमान सार्वजनिक गरेको छ ।
खानेपानीको व्यवस्थापन बोर्डले जिम्मा लिएपछि पहिलो पटक शुक्रवार वार्षिक बजेट सार्वजनिक गरेको हो ।
बजेटमा बोर्डको गत आर्थिक वर्षको आय–व्यय विवरण,आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
यसलाई आर्थिक पारदर्शिताको अभ्यास सुरु गरेको बोर्डले बताएको छ ।
बोर्डका अध्यक्ष अइन्द्रविक्रम बेघाले शुक्रवार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म बोर्डले १८ करोड ६९ लाख ८७ हजार ९६६ रुपैयाँ आम्दानी गरेको जानकारी दिए । 
उनका अनुसार नियमित खानेपानी महसुलबाट १६ करोड ३७ लाख २१ हजार १०७ रुपैयाँ, विलम्ब शुल्क तथा अनधिकृत पानी प्रयोगको जरिवानाबाट १ करोड २१ लाख १४ हजार ७९३ रुपैयाँ, जलाधार संरक्षण शुल्कबाट ६१ लाख ४४ हजार ४५८ रुपैयाँ शुल्क बापतको रकम सङ्कलन भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४९ लाख ११ हजार ५०० रुपैयाँ आम्दानी भएको छ । सोही अवधिमा बोर्डले १६ करोड १ लाख ३१ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । 
आगामी वर्ष ऋण तिर्न ५ करोड, विद्युत् महसुलमा ३ करोड १० लाख :
आर्थिक वर्ष २०८३/८४ का लागि बोर्डले २० करोड २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । 
नियमित खानेपानी महसुलबाट १७ करोड ३५ लाख रुपैयाँ, विलम्ब शुल्क तथा जरिवानाबाट १ करोड २५ लाख रुपैयाँ,जलाधार संरक्षण शुल्कबाट ६५ लाख रुपैयाँ र बिपी प्रतिष्ठानबाट १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बेघाले बताए ।
खर्चतर्फ प्रशासनिक कार्यका लागि ५ करोड १० लाख रुपैयाँ,मुहान संरक्षण तथा संरचना मर्मतका लागि २ करोड ५८ लाख ५० हजार रुपैयाँ,विद्युत् महसुलका लागि ३ करोड १० लाख रुपैयाँ तथा धरान उपमहानगरपालिकाको ऋण भुक्तानीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । 
नीति तथा कार्यक्रम अनुसार धरानको खानेपानी समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने बोर्डको नीति रहने जनाएको छ। कोशी खानेपानी आयोजनाको कार्यान्वयनमा बोर्डको भूमिका प्रभावकारी बनाइने छ ।
सूचना प्रविधिको प्रयोग विस्तार गर्दै सफ्टवेयर, वेबसाइट र मोबाइल एपलाई थप परिष्कृत गरिने तथा खानेपानी नपुगेका क्षेत्रमा ट्रंकलाइन र वितरण पाइपलाइन विस्तार गरिने नीति लिइने छ । बोर्डले दैनिक २ करोड ७० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष सुख्खा याममा दैनिक औसत २ करोड ४१ लाख लिटर खानेपानी उत्पादन गरेको थियो । आगामी वर्ष थप स्रोत विस्तार र चुहावट नियन्त्रण मार्फत दैनिक औसत २ करोड ७० लाख लिटर उत्पादन तथा वितरण गर्ने लक्ष्य लिएको हो ।
khanepani-board