धरान : धरान उपमहानगरपालिका कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि कुल २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ ।
बजेटको लागि स्रोत अनुमान तथा सीमा निर्धारणमा लामो छलफलपछि सोमवार कार्यपालिकामा प्रस्तुत बजेट स्वीकृत भएको हो । बजेटलाई विषयगत समितिमा पठाई आवश्यक छलफलपछि नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।
नगरसभा साउन २१ गते बोलाउने निर्णय गरिएको छ ।आइतबार विविध प्रस्ताव सूचिबद्ध गर्ने विषयमा विवाद भएपछि एजेन्डामा प्रवेश गर्नुअघि नै कार्यपालिका बैठक स्थगित भएको थियो ।सोमबार बिहान ९ बजेदेखि पुनः बसेको बैठकमा प्रस्तुत ३१ वटा एजेन्डा मध्ये २७ वटा पारित भएका छन् ।
चार वटामा समिति गठन गर्ने तथा एउटा एजेन्डा अर्को कार्यपालिका बैठकमा लैजाने निर्णय भएको छ । 
भाषा र सांस्कृतिक निर्णय गर्न समिति   ः 
कार्यपालिका बैठकले याक्थुङ लिम्बु भाषा र वान्तावा राई भाषालाई धरानको कामकाजी भाषा लागू गर्ने मागको प्रक्रिया अघि बढाउन कावा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको छ । 
भाषा आयोगको सिफारिस अनुसार स्थानीय सरकारी कामकाजमा किरात सिरिजंगा लिपि तथा लिम्बु याक्थुङ भाषा ऐन–२०८३ स्वीकृत गर्ने प्रक्रिया अघि बढाइनु पर्ने मागलाई सम्बोधन गर्न समिति गठन गरिएको हो ।
कार्यपालिका बैठकमा प्रस्तुत ऐतिहासिक लिम्बुवान विजयपुर दरबार परिसरको सूचीकरण, अभिलेखीकरण गरी संरक्षण गरियोस् भन्ने मागलाई सम्बोधन गर्ने प्रक्रिया पनि कावा प्रमुखको संयोजकत्वमा गठित समितिले मस्यौदा गर्ने निर्णय भएको छ ।
ट्रायल सेन्टरका लागि डेढ बिघा जग्गा :
कार्यपालिका बैठकले धरान–१७ स्थित एन्फा मैदान उत्तरतर्फ रहेको ६ बिघा १९ कठ्ठा १५ दशमलव ५ धुर जग्गा मध्ये डेढ बिघा ट्रायल सेन्टर निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।यसबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायलका लागि सेवाग्राहीहरूलाई सुन्दरहरैंचा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको बताइएको छ ।
कार्यान्वयन नभएको पाँच ठेक्का रद्व :
बैठकले आर्थिक वर्ष २०८२/८३ मा आह्वान गरिएका तर कार्यान्वयन हुन नसकेका विभिन्न योजनाका ठेक्का रद्द गर्ने निर्णय गरेको छ । रद्द भएका योजनामा नाष्ट भवन निर्माण,तरकारी बजार सेड निर्माण,भगवती आधारभूत विद्यालय भवन निर्माण रहेका छन् । साथै धरान खानेपानी बुस्टर पम्प जडान,आधारभूत खानेपानी आपूर्तिको इलेक्ट्रो मेकानिकल सामग्री (बुस्टर पम्प र जेनरेटर) खरिद रहेका छन् ।
शिक्षा योजना स्वीकृत, प्रहरी ऐन मस्यौदा :
संस्थागत विद्यालय वर्गीकरण समिति अनुमोदन गरिएको छ । निजी विद्यालयले अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । सिर्जना चोकको सडकको नाम ‘खुवालुङ पथ’ राख्ने निर्णय गरिएको छ ।
सेटब्याक अनुगमन, टाँगा व्यवस्थापन :
बैठकले धरान उपमहानगरको सडक, बाटोहरूको सेटब्याक अनुगमन तथा नियमन गर्न धरान–१२ का वडाध्यक्ष टंक राईको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको छ । साथै टाँगा व्यवसायलाई व्यवस्थित गर्न कार्यविधि बनाएर भाडा दर निर्धारण गर्ने निर्णय गरिएको छ ।
करार तथा अस्थायी कर्मचारीको म्याद थप गरिएको छ । तह वृद्धि तथा बढुवा सिफारिस गर्ने निर्णय गरिएको छ । एलपीए जलवायु अनुकूल स्थानीय योजना स्वीकृत गरिएको छ ।भू–सेवा नीति निर्माण,भू–उपयोग क्षेत्र वर्गीकरण मापदण्ड–२०८३ तयार गर्ने निर्णय गरिएको छ । 
वडाका स्थानीय योजनाहरू पनि स्वीकृत गरिएको छ । शेर्पा रिन्जेन गुम्बामा ट्रस र फल्स सिलिङ, संस्कृति उत्थान भवन कम्पाउन्ड, हाम्रो देउराली बाल विकास केन्द्र सञ्चालन, बंशीला देउराली आर्यघाटमा शौचालय तथा बरन्डा निर्माण गरिने भएको छ ।
सुनौलो पुस्तकालय परिसरमा घेरा बेरा, शान्ता देवी पौडेल खड्काको घरमा टिनको छाना, विभिन्न गुम्बा तथा सामुदायिक भवन निर्माण लगायतका योजनाहरू कार्यान्वयन गरिने निर्णय गरिएको छ । 
अनुदान र आन्तरिक राजस्व :
आव २०८३/०८४ को बजेटमा सङ्घीय सरकारको समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक राजस्व प्रमुख आय स्रोतका रूपमा रहेका छन् ।
नगरपालिकाले आगामी वर्षका लागि आन्तरिक राजस्वतर्फ घर बहाल कर, मालपोत, पार्किङ शुल्क, नक्सा पास दस्तुर, व्यवसाय कर, सेवा शुल्क, बसपार्क सञ्चालन, विज्ञापन कर लगायतका स्रोतबाट आम्दानी बढाउने लक्ष्य लिएको छ ।
क्षेत्रगत बजेट:
कार्यपालिकाले क्षेत्रगत रूपमा विनियोजित बजेट पनि स्वीकृत गरेको छ । वन,वातावरण तथा विपद् व्यवस्थापन, आर्थिक विकास कृषि, पर्यटन, उद्योग, सहकारी, सामाजिक विकास शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, सुशासन तथा संस्थागत विकास,पूर्वाधार विकास,प्रशासन तथा नगर भिजन कार्यक्रम समेत २०८३/०८४को बजेटमा समावेश छ ।