धरान : नयाँ बसपार्क पूर्णरुपमा सञ्चालन गर्न सफल भएपछि धरान उपमहानगरपालिका उत्साहित भएको छ । यसपालीको बजेटमा बसपार्क सञ्चालनबाट १ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान समेत गरिएको छ ।
यातायात व्यवस्था र सवारी साधनलाई यसपाली उपमहानगरपालिकाले आम्दानीको श्रोतको रुममा प्राथमिकता दिएको देखिन्छ । आर्थिक वर्ष २०८३/०८४ को बजेटमा बसपार्क बाहेक पार्किङ शुल्कबाटै २ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।
धरान उपमहानगरपालिका कार्यपालिका बैठकले सोमबार पास गरेको कुल २ अर्ब ७६ करोड १९ लाख २५ हजार रुपैयाँको बजेट अनुमान महत्वाकांक्षी छ । आन्तरिक राजस्व वृद्धि, सार्वजनिक सेवा सुधार, पर्यटन, स्वास्थ्य, शिक्षा र सांस्कृतिक प्रवर्द्धन सकारात्मक पक्षको रूपमा देखिएको छ ।
बजेटको एक चाैथाई भाग अनुदानमा निर्भर छ । आगामी आर्थिक वर्षमा सङ्घीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान गरी ८६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकारबाट १ करोड ८० लाख ७५ हजार रुपैयाँ आउने अनुमान गरेको छ ।
अनुदानको तुलनामा धरानको आन्तरिक स्रोतबाट १ अर्ब ४० करोड ९४ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरिएको छ । बजेटको आधा भाग आन्तरिक श्रोतबाट थाम्ने लक्ष्य महत्वाकांक्षी हो ।
उपमहानगरपालिकासँग हालको नगद तथा बैङ्क मौज्दात ७ करोड रुपैयाँ समावेश गरी कुल आय २ अर्ब ७६ करोड १९ लाख २५ हजार रुपैयाँ बजेट आम्दानी पुग्ने अनुमान गरिएको हो । बजेटको क्षेत्रगत विनियोजन अनुसार पूर्वाधार विकासमा सबैभन्दा धेरै १ अर्ब २ करोड १६ लाख रुपैयाँ छुट्टाइएको छ । तीनकुने सुन्दर बस्ती योजना ढल निर्माण, भानुचोक सौन्दर्यकरण, नगर गौरवका आयोजना, विभिन्न पार्क निर्माण, मर्मत कोष, सडक कालोपत्रे, ट्रस पुल, विद्यालय पूर्वाधार विकास, मुन्धुम ट्र्याक, गुम्बा निर्माण, बस्ती व्यवस्थापन यसमा समावेश छन् ।
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ६२ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमा खानेपानी व्यवस्थापन, वृक्षारोपण, विपद् व्यवस्थापन कोष, वातावरण संरक्षण तथा सरसफाइ प्रवर्द्धन समावेश छ ।
आर्थिक विकासमा पर्यटनदेखि सहकारी :
आर्थिक विकासतर्फ ५ करोड ८० लाख रुपैयाँ छुट्टाइएको छ । यसमा पर्यटन प्रवर्द्धन, कृषि, पशुपालन, उद्योग, सहकारी, स्वरोजगार कार्यक्रम समावेश छ । सङ्कटग्रस्त सहकारी समाधान कोष, धरान सङ्गीत प्रतिष्ठान, अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा भाषा कला–साहित्य संरक्षणका कार्यक्रम यसै बजेटमा राखिएका छन् ।
नगर अस्पताललाई २ करोड :
बजेटले स्वास्थ्य महाशाखा तथा आयुर्वेदका लागि ४ करोड २० लाख रुपैयाँ, औषधि खरिदका लागि २ करोड, नगर अस्पतालका लागि २ करोड तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कार्यक्रमका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुद, बुढासुब्बा गोल्डकप, एन्फा, स्काउट, शिक्षा सुधार, मानव सेवा, अपाङ्गता पुनर्स्थापना तथा सांस्कृतिक कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसमा राजस्व सुधार, सूचना तथा सञ्चार, सार्वजनिक सुनुवाइ, कर्मचारी क्षमता विकास, डिजिटल नक्सा प्रणाली, सुकुम्वासी व्यवस्थापन, पत्रकार महासङ्घका कार्यक्रम तथा सूचना व्यवस्थापनमा बजेट राखिएको छ ।
बसपार्क, सटल बस र उपकरण :
यसमा कार्यालय सञ्चालन, कार्यपालिका सदस्य कार्यक्रम, बसपार्क व्यवस्थापन,डोजर तथा रोलर सञ्चालन,सटल बस सेवा, ट्रायल सेन्टर,संस्थागत सहयोग तथा साझेदारी कार्यक्रममा कुल १६ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै २० वटै वडाका लागि २७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये वडागत योजना तथा दायित्व व्यवस्थापनका लागि छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको छ। नगर भिजन कार्यक्रमका लागि ३ करोड रुपैयाँ छुट्टाइएको छ।
प्रस्तावित बजेटअनुसार क्षेत्रगत विनियोजन २ अर्ब ११ करोड १४ लाख ७५ हजार रुपैयाँ, सशर्त, समपूरक तथा विशेष कार्यक्रमतर्फ ६४ करोड ७५ लाख ५० हजार रुपैयाँ रहेको छ। यससँगै कुल बजेट २ अर्ब ७६ करोड १९ लाख २५ हजार रुपैयाँ प्रक्षेपण गरेको छ।
घाटा बजेटको भार :
महत्वाकांक्षी बजेटले बोकाउने बर्सेनि दायित्वबाट मुक्त हुन कठिन हुन्छ । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश १२६ वटा योजनाको भुक्तानी गर्न बाँकी देखिएको छ भने उपमहानगरपालिकामाथि चालु आर्थिक वर्षकै करिब ६० करोड रुपैयाँ दायित्व रहेको छ । काम सकिएर अनुगमन गर्न बाँकी योजनाहरू ६८ वटा छन् । गत जेठ २२ गतेको कार्यपालिका बैठकले निर्णय गरेका ५८ योजनासहित १२६ वटा योजना रकम अभावले भुक्तानी गर्न बाँकी छ । कार्यपालिका बैठकमा वरिष्ठ इन्जिनियर श्रेष्ठले भने ‘यो वर्ष करिब ६७ योजनाका ठेक्का निकालेका छौँ ।’