धरान : धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमा २० वटै वडाको बजेट रकम गत वर्षको भन्दा वृद्धि गरिएको छ । 

नगरसभाबाट पारित हुन बाँकी मस्यौदा बजेटको वडागत विनियोजनमा ५ करोड थप गरी कुल २६ करोड बजेट सीमा कायम गरिएको हो । गत: आर्थिक वर्ष २०८२/०८३ मा वडाहरूका लागि कुल २१ करोड रुपैयाँ सीमा निर्धारण गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईद्वारा मंगलबार जारी पत्र अनुसार नयाँ सीमा निर्धारण अनुसार वडाहरूमा निम्न अनुसार थप रकम विनियोजन भएको छ । सबै भन्दा बढी वडा १५ मा ४५ लाख ४५ हजार र सबैभन्दा कम वडा ७ मा १५ लाख ७७ हजार रुपैयाँ बजेट थपिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ भन्दा यस बर्ष २०८३/८४ मा १ नं. वडामा १८ लाख ४२ हजार थप भएको छ । वडा २ मा १६ लाख ४७ हजार, वडा ३ मा १६ लाख ३८ हजार, वडा ४ मा २६ लाख ४४ हजार, वडा ५ मा २७ लाख ६५ हजार, वडा ६ मा २६ लाख ३५ हजार, वडा ७ मा १५ लाख ७७ हजार रुपैयाँ थप भएको छ ।

यस्तै वडा ८ मा ३२ लाख २४ हजार, वडा ९ मा १७ लाख ७० हजार, वडा १० मा १८ लाख ८६ हजार, वडा ११ मा ३० लाख ६ हजार, वडा १२ मा १८ लाख २५ हजार वडा १३ मा २५ लाख ६६ हजार, वडा १४ मा १९ लाख ४० हजार रुपैयाँ थपिएको छ ।

यस्तै वडा १५ मा सबैभन्दा बढी ४५ लाख ४५ हजार, वडा १६ मा २७ लाख २० हजार, वडा १७ मा ३८ लाख ७९ हजार, वडा १८ मा १९ लाख ५२ हजार, वडा १९ मा २६ लाख ४६ हजार, वडा २० मा ३२ लाख ९३ हजार रकम थपिएको छ ।

नयाँ बजेट सीमा कायम भए अनुसार सबै वडा कार्यालयले वार्षिक योजना तथा कार्यक्रम साउन ११ गतेभित्र उपमहानगरपालिकामा पेस गर्नुपर्ने निर्देशन गरिएको छ ।

कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार यस वर्ष टुक्रे योजनाभन्दा दीर्घकालीन तथा परिणाममुखी योजनालाई प्राथमिकता दिन वडाहरूलाई विकास योजना तयार गर्न आग्रह गरिएको छ । उनले भने ‘विकासलाई वडा केन्द्रित बनाउन अघिल्लो वर्षको तुलनामा यस वर्ष वडाहरूका लागि ५ करोड रुपैयाँ थप बजेट विनियोजन गरिएको हो ।’ 

उपमहानगरपालिकाले योजना तथा कार्यक्रम राष्ट्रिय तथा प्रदेश सरकारका नीति तथा प्राथमिकतासँग मेल खाने गरी तयार गर्न, सामाजिक समावेशीकरणलाई प्राथमिकता दिन प्राथमिकता दिन निर्देशन दिएको छ ।

चालु बजेट कर्मचारी तलब, भत्ता, घरभाडा, बिजुली, पानी, टेलिफोन, इन्टरनेट लगायत नियमित प्रशासनिक खर्चका लागि मात्रै विनियोजन गर्न पनि वडाहरूलाई भनिएको छ ।