इटहरी : नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको कोशी प्रदेश समितिको प्रथम प्रादेशिक भेला शनिवार सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

भेलाले विश्वराज तामाङको अध्यक्षतामा १३ सदस्यीय कोशी प्रदेश कार्यसमिति गठन गरेको छ । उदयपुरका तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा विराटनगरकी निर्मला दुलाल, उपाध्यक्षमा बिर्तामोडकी बन्दना उप्रेती, सचिवमा बिर्तामोडकी रिता थाम्सुहाङ, सह-सचिवमा इनरुवाकी अल्पना कुमारी उराउ र कोषाध्यक्षमा इटहरीका हिरा आलेमगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा विराटनगरकी बन्दा घिमिरे, बिर्तामोडकी रुपा लिम्बु, इटहरीकी मधुका चौलागाई, बिर्तामोडकी रुपा श्रेष्ठ र गाईघाटका देवराज राई चयन भएका छन् । सङ्घको विधानअनुसार एक उपाध्यक्ष र दुई सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।

अध्यक्षमा निर्वाचित तामाङ पत्रकारितासँगै सञ्चार उद्यम र बिमा अभिकर्ता पेशामा समेत सक्रिय छन् । उनी नेपाल पत्रकार महासङ्घ उदयपुरका उपाध्यक्षसमेत हुन् । उदयपुरमा सञ्चार उद्यमीका रूपमा परिचित तामाङले त्रियुगा एक्सप्रेस दैनिक, उपहार एफएम तथा उपहार न्यूज अनलाइन सञ्चालन गर्दै आएका छन् ।

नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय बिमा अभिकर्ता सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा सङ्घका केन्द्रीय सचिव श्रीप्रसाद सिटौला, नेपाल राष्ट्रिय बिमा अभिकर्ता सङ्घ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडकी केन्द्रीय अध्यक्ष नमिता न्यौपाने, नेपाल लाइफका केन्द्रीय सचिव तेजप्रसाद तिवारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले बिमा अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउँदै अभिकर्ताहरूको पेशागत अधिकार तथा सुरक्षाका लागि सङ्घले काम गर्दै आएको बताएका थिए ।