धरान : नेपाली पत्रकारिताको इतिहासमा पूर्वमा पत्रपत्रिका प्रकाशन तथा हस्तलिखित पत्रकारिता २००६ साल देखी सुरुआत भएको धरान तथा सुनसरीको इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ आज आइतबार विमोचन गरिएको छ ।
पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित पुस्तक शोधमूलक पुस्तक धरान रिडर्स ग्रुपले प्रकाशित गरेको हो । महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित विमोचन कार्यक्रममा लेखक श्रेष्ठले भने ‘सुनसरीको पत्रपत्रिका तथा पत्रकारिता क्षेत्रका विषयमा ७ वर्ष लगाएर गरिएको शोध तथा अनुसन्धानपछि पुस्तक प्रकाशन गरिएको हो ।’
पुस्तकको परिचर्चा गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले धरानदेखि सुरु भएको पत्रपत्रिका प्रकाशन, पत्रकारिताको विकास क्रमले अघि बढेको सुनसरीको पत्रकारिताले न्यु मिडिया युग सम्म आउँदा लामो कालखण्ड पुरा गरेको बताए ।
त्यही समयलाई कालण्डमा विभाजन गरी पुस्तकमा पत्रकारिताको विकासक्रमलाई विश्लेषण गरिएको उनले बताए । धरानमा छापाखाना आइनपुग्दै २००६ मा हस्तलिखित पत्रिका प्रकाशन भएको इतिहास पुस्तकमा उल्लेख छ ।
उनका अनुसार लेटर प्रेस देखी अनलाइन प्रविधि सम्म आइपुग्दा ५० वर्षको अवधिमा पनि धरानमा कतिपय पत्रकार र पत्रिका निरन्तर क्रियाशील रहेको पुस्तकमा उल्लेख छ । उनले भने ‘धरानको पत्रकारिताको बारेमा फुटकर शोध अनुसन्धान भएता पनि सुनसरी जिल्ला समेटिएको इतिहासको पुस्तक यो नै पहिलो भएको छ ।’
प्राडा टङ्कप्रसाद न्यौपानेले पुस्तक पठनीय तथा सङ्ग्रहनीय रहेको बताए। पुस्तकको परिचर्चा गर्दै कृतिमा अनुसन्धानात्मक, विश्लेषणात्मक र विवरणात्मक गरी तीन वटा विधिको प्रयोग गरिएको बताए ।
उनले भने ‘पुस्तकमा तथ्य र सामग्रीलाई अनुसन्धानका आधारमा प्रस्तुत गर्दै सुनसरीको पत्रकारिता तथा सञ्चार क्षेत्रको विकासक्रमलाई विवरणात्मक र विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।’
प्राडा.न्यौपानेले पुस्तकमा कतिपय विषयवस्तुलाई थप विस्तारमा लेखन गर्न उपयुक्त हुने बताउँदै पुस्तकमा देखिएको इतिहासको तिथि मितिका कतिपय त्रुटि आगामी संस्करणमा सच्याउन सुझाव दिए । विमोचन कार्यक्रममा पुस्तक लेखन तथा प्रकाशनमा सहयोग गर्ने दाताहरूलाई कदर पत्र सहित सम्मान गरिएको थियो।
धरानका पूर्व नगरप्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि, लेखक, प्राध्यापक तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सहजीकरण उपप्राध्यापक राजेश विद्रोहीले गरेका थिए।
पुस्तकका लेखक पत्रकार श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन । उनी धरानमा रहेर विगत १८ वर्षदेखि पत्रकारिता तथा शिक्षण पेसामा आबद्ध छन् । २४४ पृष्टको पुस्तकको मूल्य ६९९।– रुपैयाँ राखिएको छ ।