धरान : नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
संघव्दारा आज मङ्गलवार  पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ ।
नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहामन्त्री पञ्चकला राई, कोषाध्यक्ष अनुपमा राई रहेका छन् । 
सदस्यहरूमा चित्र राई, सुरेन्द्र राई, किरणजंग राई, रिवाज राई, ज्ञानकुमार राई, कल्पना राई, विमला राई, विश्वनाथ राई, धनबहादुर राई, रमिला राई, अनुपमा राई रहेका छन् । 
पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र राईले किरात राई सङ्घले काँग्रेस पार्टीमा समावेशी प्रतिनिधित्वको सवालाई जोड दिदैं पार्टीमा राई समुदाय नेतृत्व तहमा पुर्‍याउने भूमिका निर्वाह गर्ने बताए ।
उनले भने ‘किरात राई समुदायलाई नेपाली काँग्रेसको लोकतान्त्रिक आन्दोलनसँग थप जोड्दै सङ्गठन विस्तार र समुदायका मुद्दालाई अघि बढाउने छौँ ।’
नेपाली काँग्रेसको इतिहासमा राई समुदायको ऐतिहासिक योगदान र भूमिका रहँदै आए पनि पछिल्ला समय पार्टीप्रति उदासीनता बढेको बताउँदै काँग्रेस आदिवासी जनजातिको सङ्घर्ष र बलिदानबाट बनेको पार्टी भएकोले यसमा हक, अधिकार र भूमिकामा सक्रिय हुन समुदायलाई जागरूक गरिने बताए ।
सङ्घका निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राईले महाधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । पत्रकार सम्मेलनमा प्रदेश नं १ का पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङ, धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईको पनि उपस्थिति थियो ।