झापा : झापाको कचनकवल गाउँपालिकामा सोमबार र मंगलबार गरि दुई दिनमा १० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएसँगै उच्च सतर्कता अपनाईएको छ ।

आज गाउँपालिकाका जनप्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठकले गाउँपालिका पुरै सिल गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका छन् । यस्तै भारतबाट लुकिछिपी भित्रिने नेपाली नागरिकलाई सीमा रोक्नुका साथै गाउँघरमा प्रवेश गर्न नदिनलाई उच्च सतर्कता बढाइएको अध्यक्ष आलमले बताए ।

मङ्गलवार पाँच वटा वडा सिल गरिएकोमा बुधवार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गरिएको हो ।

अध्यक्ष आलमका अनुसार अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाटपनि कसैलाई प्रवेश गर्न दिइएको छैन भने सम्पूर्ण पसलहरू पनि बन्द गरिएको छ । अति आवश्यक सवारीसाधन बाहेक मोटरसाइकलसमेत सञ्चालन गर्न निषेध गरिएको आलमले बताए ।

संक्रमित १० जना भारतबाट लुकेर नेपाल छिरेका थिए

कचनकवल गाउँपालिकामा भारतको मुम्बई र दिल्लीबाट लुकिछिपी आएका ३३ जना नेपाली नागरिकलाई स्थानीय पथरिया माविको क्वारेनटाइनमा राखिएको थियो । उनीहरूको स्वाब परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्ये १० जनाको कोरोना पुष्टि भएको थियो भने २३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै मङ्गलवार लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगी क्वारेनटाइनमा बसेका एक महिलासहित ६५ जनाको स्वाब सङ्कलन गरिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि विराटनगर पठाईएको छ ।