धरान :  धरान १३ मा रहेको कृषि उपज बजार स्थलमा आँप ल्याउने गाडीमा चढेर भारतबाट एक जना युवा आएपछि धरान १ लक्ष्मी सडकमा त्रास सिर्जना भएको छ ।

धरान उपमहानगरपालिका वडा नं. १ लक्ष्मी सडकका महेश श्रेष्ठको घरमा डेरा गरी बस्ने एक परिवारका आफन्त तिहार देखि भारतको दिल्लीमा रहेको र आज राती अचानक आइपुगेपछि घरधनीले वडाध्यक्षलाई खबर गरेका थिए ।

घरधनीले खबर गरेपछि वडाध्यक्ष सहितको टोली आएर सोधिखोजी गर्दा ती युवा भारतबाट हप्ता दिन हिँडेर नेपालको सीमा क्षेत्रमा आइपुगेको र आँप बोक्ने ट्रकमा चढेर धरान आइपुगेको ती युवाले बताएको १ नम्बर वडाध्यक्ष रोशन अधिकारीले जानकारी दिएका छन् ।

उनीसँगै अर्को एक जना युवा पनि रहेको र उनी मोरङको पथरी गएको ती युवाले बताएका छन् । अहिले ती युवालाई सोधी खोजी भइरहेको र क्वारेनटाइनमा पठाउने तयारी भइरहेको वडाध्यक्ष अधिकारीले बताएका छन् ।

कृषि उपज बजार स्थलमा भारतबाट आँप आएको बारेमा जानकारी लिँदा भारतबाट नआई कठौनाबाट आएको बताइएको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए । आँप ल्याउने गाडी भने रती नै फर्किसकेको बुझिएको छ । धरानका युवा सँगै दुवै जना युवा भारतबाट आएको र उनीहरूलाई आँप बोकेको गाडीमा प्रहरीले रोकेर चढाइदिएको बताएका छन् ।