धरान : निर्माता तथा निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री मन्त्रिपरिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो ।

मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा २ वर्षका लागि नियुक्त भएका निर्देशक दयाराम दाहाल २०४५ सालमा निर्मित फिल्म ‘लाहुरे’ को पोस्ट प्रोडक्सनमार्फत् फिल्म क्षेत्रमा भित्रिएका थिए । फिल्म ‘दाइजो’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । नेपाली फिल्ममा सफल निर्देशकको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

दशक अगाडि निर्देशक दाहालले निर्देशन गरेका प्रायः फिल्मले हलमा ५१ औं र १०० औं दिन मनाउन सफल छन् । विवादरहित फिल्मकर्मीको रुपमा चिनिने उनको पछिल्लो रिलिज फिल्म ‘रानी’ हो भने प्रदर्शनको पखाईमा फिल्म ‘लैबरी लै’ रहेको छ । उनले ‘दौँतरी’, ‘ठुल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमी विना मरिहाल्छु’, ‘दैव’ लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन् ।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय दाहालमा कलाकारिताप्रति सानैदेखि लगाव थियो । उनी निर्देशनमा होमिनु भन्दा अगाडि २०४१ तिर रेडियोमा गीत गाउन, नाटक गर्न जाने गर्दथे । जन्मथलो काभ्रेबाट धाएरै उनले रेडियो नेपालको चौतारी, बाल कार्यक्रममा गीत समेत गाउँदथे ।

०४३ सालमा एसएलसी पास गरेर काठमाडौं छिरेपछि भने उनलाई निर्देशनतर्फ रुचि बढेको थियो ।