धरान : याक्थुङ कल्चरल ग्रुपले गरेको ‘पहिलो विश्वव्यापी अनलाइन पाःलाम गायन प्रतियोगितामा गैर लिम्बू सहित उत्साहजनक सहभागिता भएको छ ।

अहिले सम्म १६० वटा पाःलाम दर्ता भइसकेको आयोजकले जनाएको छ । जसमा ५६ वटा पाःलाम सार्वजनिक भइसकेका छन् । पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँ अनलाइन टिभीको च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएका पाःलाममा दर्शकहरूले लाइक, सेयर तथा कमेन्ट गर्नेहरूको लर्को पनि बढिरहेको छ ।

सो पालम प्रतियोगितामा गैरलिम्बूभाषीहरूमा राई, विश्वकर्मा र अधिकारी जातिबाट सहभागिता रहेको छ । अधिकारीको पाःलाम अपलोड हुन बाँकी छ भने राई र विश्वकर्माको पाःलाम अत्यधिक रुचाइँदै आएको छ ।

अझै पनि सहभागीहरूको सङ्ख्या बढिरहेकोले प्रत्येक दिन सङ्ख्या बढाउँदै अपलोड गरिएको आयोजकले जनाएको छ । नेपाल बाहेक वैदेशिक रोजगारीमा गएका मुलुकहरू र सिक्किम, असम, युके, अमेरिकाबाट पनि सहभागिता जनाइएको छ ।

पालाम प्रतियोगितामा विजेतालाई नगद ३० हजार सहित एउटा पाःलाम निःशुल्क रेकर्ड, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसै गरी द्वितीय पुरस्कार – नगद २५ हजार,प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार – नगद २० हजार, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिने भएको छ । त्यसै गरी विभिन्न शीर्षकमा सान्त्वना पुरस्कार पनि प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सञ्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मण्डलबाट ६०% अङ्क प्राप्त गर्नेछ । निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथाने सङ्गीतका अभियन्ता झुमा लिम्बू रहेका छन् ।

पाःलाम ज्येष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजनिक गर्ने पनि आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि मनिश सम्बाहाङ्फे क्यानडा, शर्मिला यक्सो चोङ्बाङ युके, तिलविक्रम सम्बाहाम्फे युके, विश्वासदीप तिगेला युके, रोशन यक्सो हङकङ, सुवर्ण नेम्बाङ युके, टंक वनेम युके, दिलसिंह मेन्याङ्बो युके, आशिका देवान हङकङ, दिल पालुङ्वा युके, लोकेन्द्र तबेबुङ युके, टंक सेलिङ काठमाडौँ, मुक्साम लाओती जापान, चौबिसे संङ्यक ढाका उद्योग धरान, रीता फोम्बो ठुली युके, देव+विष्णुमाया हुक्पाचोङ्बाङ युके र दिला सेलिङले प्रायोजन गरेका छन् । प्रतियोगिताको चुलिँदो चर्चाका कारण अझै पनि प्रायोजनको सङ्ख्या बढ्नसक्ने आयोजकले जनाएको छ ।

के हो पाःलाम ?
धाननाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रूपमा देखिने धाननाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवाल जवाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए मात्र धान नाच्ने निधो गरिन्छ ।

पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रूपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर बिन्ती गरी सुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।

पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसै बेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रशस्तै भेटिन्छन् ।