धरान : धरान र नेपाल रनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ लाख बराबर को पीपीई हस्तान्तरण गरेको छ ।

विश्वभर छरिएर नियमित दौडमा लागेका नेपालीहरूको समूह “नेपाल रन“ र नेपालमा दौड मार्फत शारीरिक तन्दुरुस्ती र चेतना विस्तारका लागी निरन्तर “धरान रन समूह“ को आयोजनामा बेलायतबाट सुरु गरिएको लकडाउन फिटनेस च्यालेन्ज शारीरिक तन्दुरुस्ती चेतना अभियानले आफ आफ्नो अभियानका क्रममा सङ्कलन भएको रकमबाट कोरोना सामाग्री “पीपीई किट“ खरिद गरेर बुझाएको हो ।

लक डाउन फिटनेस च्यालेन्जबाट सङ्कलित करिब १ लाख रुपैयाँबाट १ सय ५० थान पीपीई किट र डिस्पोजेबल मास्क खरिद गरी प्रतिष्ठानलाई हस्तान्तरण गराएको हो ।

धरान रन समूहका अध्यक्ष रमु राई र अन्य सदस्यहरूको उपस्थितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सो सामाग्री सोमबार अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

विश्वव्यापी रूपमा सञ्चालन गरेको शारीरिक तन्दुरूस्ति च्यालेन्जबाट धेरैमा नियमित व्यायामको चेतना विकास गर्न सफल भएका हो । “हाम्रो उद्देश्य रकम भन्दा पनि शारीरिक तन्दुरुस्ती चेतना रहेकोले अभियान सफल रहेको धरान रनका संस्थापक सन्तोष राईले बताए ।

महामारीको बेला स्वास्थ्यको लागी दौड र व्यायामको संस्कारलाई विकास गरेर रोगब्याधिबाट बाच्न चेतनाको विकास गर्ने सानो प्रयास बाट सङ्कलित रकमबाट सहयोग गर्न पाउँदा अत्यन्त खुशीलागेको नेपाल रन समूहका पाण्डव महतोले बताए । महतो क्यान्सर रोगलाई पनि जितेर निरन्तर दौडमा लागेका अभियन्ता हुन ।

अभियन्ता जगन कार्कीले यो विशुद्ध परोपकारी अभियानमा विश्वभरबाट साथ दिने , सहयोग गर्ने महामारी र प्रविधिको निकास सँगै बढेको शारीरिक निष्क्रियताले बढाउने स्वास्थ्य समस्याहरू विरुद्ध सचेत भई एक अर्कालाई व्यायाम गर्न प्रोत्साहन गर्ने अभियानमा सहभागीहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरे ।

अभियान मार्फत एक व्यक्तिले १० जनालाई अफूले जस्तै शारीरिक अभ्यास गरेर फोटो भिडियो पोस्ट गर्न र सानो रकम डोनेट गर्न अनुरोध गरिएको थियो । स्तरीय पीपीई किट खरिद गर्न डा अरबिन जोशीको पहल र उक्त कार्यक्रम संयोजक धुर्ब नेपाल  हुन् ।