धरान : खानेपानी संस्थानमा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको छानबिन गर्न माग गर्दै सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिले आज धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

आज २९ वटा दल तथा संस्था आबद्ध रहेको सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिले धरान खानेपानी संस्थानमा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको छानबिन गर्न माग गर्दै धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई ज्ञापन पत्र बुझाएको हो ।

एडिबीको ऋण अनुदानमा र धरान उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको करिब २ सय २० करोडको धरान खानेपानी आयोजना असफल भएसँगै धरानमा खानेपानीको हाहाकार बढेर गएको बताएको छ । असफल आयोजनालाई प्रमाणीकरण नै नगरी धरान खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिएको प्रति आम धरानवासीले तीव्र आलोचना गरेको कुरा यथावतै नै छ धरानमा पछिल्लो समय पानीको आन्दोलन गर्ने कुनै नयाँ कुरा हैन ज्ञापन पत्रमा उल्लेख छ ।

भरखर सम्पन्न धरान उपमहानगरको सातौँ नगर सभा बैठकले साउन १ गतेदेखि खानेपानी संस्थानलाई खाने पानी व्यवस्थापन बोर्डमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार संस्थानलाई बोर्डमा ल्याउनका लागि नगर सभा पूर्व बसेको कार्यपालिकाको बैठकले प्राविधिक, आर्थिक र नीतिगत विषयमा ‘विज्ञ टोली’ गठन गर्ने निर्णय गरेको थियो । प्रस्तावित खानेपानीको अध्यक्ष नगर प्रमुख नै हुन् ।

आयोजना ल्याउँदै गर्दा धरानवासीलाई सन् २०३१ सम्म न्यूनतम १६ देखि २४ सै घण्टा ७ मिटरको प्रेसरमा डब्लुएचओको मापदण्ड अनुसार शुद्ध खानेपानी उपलब्ध गराउने भनिएता पनि आयोजना सकिएको ५ महिना पनि नपुग्दै धरानमा खानेपानीको हाहाकार हुनुले आयोजनाको डिपिआर पनि गलत भएको र धरानवासीलाई झुट र भ्रममा राखेर अरबौँको लगानीको चरम दुरुपयोग र भ्रष्टाचार भएको पुष्टि भएको ज्ञापन पत्रमा उल्लेख छ । तत्काल स्वतन्त्र र निष्पक्ष फिनान्सीयल र टेक्निकल अडिट हुनुपर्ने समेत माग गरिएको छ ।

जनतालाई आन्दोलित भएर सडकमा उत्रने अवस्था सृजना नगर्न अनुरोध पनि गरिएको छ । ज्ञापन पत्रको सातौँ बुँदामा ११ बुँदे सम्झौता बमोजिम दैनिक उत्पादन १ करोड ५२ लाख २० हजार लिटर डिपीआरमा हुनुपर्ने षडयन्त्रपूर्वक १ करोड ३ लाख लेखिएको र बेलाबेलामा प्रस्तुत रिर्पाेटहरुमा ९२ लाख लिटर भनेर जनतालाई भ्रम फैलाउनलाई तत्काल कारबाही गर्नुपर्ने यदि यसो भएन भने जनता कडा आन्दोलन गर्न बाध्य हुने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् मञ्च नेपालका जिल्ला अध्यक्ष अमर इजमले बताए ।

समितिले ८ बुँदे माग पत्र बुझाएको थियो । प्रतिवेदन डीपीआर बमोजिम आयोजनाको निर्माण, र पानीको वितरण हुनुपर्ने , उपमहानगरको कार्यपालिका बैठकले विज्ञ टोली मार्फत आयोजनाको मूल्याङ्कन गर्ने र टेक्निकल अडिट हुनुपर्ने समेत माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

मेयर राईले संस्थाले बुझाएको ज्ञापन पत्र सकारात्मक ढङ्गबाट बुझेको प्रस्तावितको अध्यक्ष आफू रहेको जनप्रतिनिधिले खराब काम नगर्ने राईले बताए । ढुक्क भएर बस्न आग्रह गरे । विज्ञ टोली गठन गर्ने प्रक्रियामा रहेकाले टोलीलाई खुलेर काम गर्न दिन आग्रह पनि गरे । उनले भने टोलीले नराम्रो गरे कारबाही समेत गरिने आश्वासन दिए ।

ज्ञापन पत्र लिएर धरान उपमहानगरपालिका पुगेका टोली मध्ये बिर्ख बहादुर गुरुङले सुख्खा समयमा पानी चाहिएको हो यदि जनताको माग पुरा नगर्ने भए स्थानीय सरकारका मेयरले राजीनामा दिनुपर्ने पनि माग गरे ।

Gyapan-Patra-1 Gyapan-Patra-2