इटहरी : १६ लाख पुरस्कार राशि भएको मदन भण्डारी स्मृति गोल्डकपको दोस्रो संस्करणमा दर्शकहरूले बाँसको प्याराफिटमा बसेर खेल हेरेका थिए । इटहरी रङ्गशालामा भएको अन्तरास्ट्रिय आमन्त्रण सहितको सो प्रतियोगिता दर्शकले बाँसकै प्याराफिटबाट चित्त बुझाएका थिए ।

अब भने इटहरी रङ्गशालामा बाँसको अस्थायी प्याराफिटमा बसेर हेर्ने दिनको अन्त्य भएको छ । ठुला प्रतियोगिता मात्र हैन इटहरी रङ्गशालामा हुने सबै किसिमका कार्यक्रम अब भने आधुनिक प्याराफिटमा बसेर हेर्न सकिने छ ।

Itahari-Studiam-2

सिमेन्ट तथा बाँसको संरचनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको सुविधा सम्पन्न प्याराफिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । राष्ट्रिय खेलकुद परिषद्को २२ करोडको लगानीमा अहिले इटहरी रङ्गशालामा सुविधा सम्पन्न प्याराफिट बनाएको छ ।

छ महिना अघि मलेसियन कम्पनीले नेपाली निर्माण कम्पनीसँग जोयन्डभेन्चरमा ठेक्का लिएको थियो । जसमा २२ करोडको लागतमा तिन हजार ५ सय दर्शक अट्ने आधुनिक प्याराफिट निर्माण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले बताए ।

प्याराफिट सहित खेलाडीका लागि चेन्जिङ रुम, उच्च पदस्थ व्यक्तिहरूको लागि विश्राम गृह, पोस्ट म्याच कन्फ्रेरेन्स, सुविधा सम्पन्न शौचालयहरू बन्नेछन् ।

पक्की प्याराफिटको अभावमा प्रतियोगिता आयोजकहरूले लाखौँ रुपैयाँ खर्च गरेर बाँसको अस्थायी प्याराफिट बनाउनुपर्ने बाध्यता इटहरीमा थियो ।

अब भने विभिन्न प्रतियोगिता गर्दा बाँसको प्याराफिट निर्माण गर्दा लाग्ने खर्च अबदेखि जोगिने अध्यक्ष थापा बताउँछन् ।

'पहिले पहिले अस्थायी प्याराफिट निर्माणमा ठुलै रकम खर्च हुने गरेको थियो' थापाले भने 'अब सुरक्षित हुनुको साथै अनावश्यक खर्चहरू समेत कम हुन्छ, यसर्थ इटहरीको खेलकुद अर्को स्टपेमा अब अघि बढ्छ ।'