धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् ।

११ जनालाई पहिरोले बगाएर बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेकोले घटनाबारे थप विवरण आउन बाँकी छ ।

सङ्खुवासभाको सदरमुकाम खाँदारीबाट पैदल एक दिनको दुरीमा सो घटना घटेको हो । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान सदरमुकाम खादबारीमा थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।