धरान : धरानमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले फेरि लकडाउन समेत गर्न सक्ने बताइएको छ ।

धरान उपमहानगरपालिकामा आज कोभिड १९ रोकथाम नियन्त्रण र उपचार सम्बन्धी धरानका सुरक्षा प्रमुखहरू,इलाका प्रशासन कार्यालयका प्रमुख र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको सुरक्षा बैठकले धरानमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

बैठकले धरान प्रवेश गर्ने तीनकुने नाकामा मास्क वितरण गर्ने र अनिवार्य इन्ट्री गराउने, धरान बजार क्षेत्रमा सामाजिक दुरी कायम गराउने, सर्वसाधारणलाई अनिवार्य मास्क प्रयोग गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले प्रचार प्रसार गरी सचेतना फैलाउने पनि निर्णय भएको छ ।

आज बसेको बैठकले गरेको निर्णयले मात्रै नपुग्ने भए पछि विहिबार फेरी सिडिओ जिल्ला प्रहरी प्रमुखसहितको सर्वदलीय बैठक बस्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् । भोलि बस्ने सर्वदलीय बैठकले धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमण समुदाय स्तर सम्म फैलिएको आशङ्का गरिएकोले फेरि धरान उपमहानगरपालिका क्षेत्रमा लकडाउन समेत हुन सक्ने मेयर राईले कपुरी न्युजलाई बताए ।

धरान १३ मा ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भए सँगै धरानमा पनि समुदाय स्तरमै कोरोना सङ्क्रमण भइसकेको हुनसक्ने भन्दै यस विषयमा सर्वदलीय बैठकले निर्णय गर्ने बताइएको छ । कोरोना सङ्क्रमित बिरामीलाई अरू अस्पतालले समन्वय नै नगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउन थाले पछि धरानमा झन् जोखिम बढेको छ ।

अहिलेसम्म धरानमै उपचारको क्रममा यस भन्दा अघि दुई जना सप्तरीको राजविराज र महोत्तरीका २ जना पुरुषको मृत्यु भइसकेकोछ भने आज थप एक जना विराटनगरको कोसी कोभिड १९ अस्पतालबाट रेफर गरिएका बिरामीको मृत्यु भएको छ । यो प्रदेश १ मा पहिलो कोरोना सङ्क्रमणबाट मृत्यु भएको घटना हो ।