धरान : प्रदेश नं. १ मा थप आज एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडानं. ५ आदर्श टोलका ७७ वर्षीय एक बृद्धाको आज विराटनगरको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई केही दिन अघि देखि ज्वरो आएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका वृद्धलाई श्वास फेर्न समस्या भएपछि आज बिहान ९ बजे अस्पताल भर्ना गरिएको थियो ।

कोरोनाको आशङ्का गरी बिहान १० बजे स्वाब लिइएर आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारको क्रममा ३ बजे उनको मृत्यु भएको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । मृत्यु भएको करिब एक घण्टापछि मात्रै ती वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या यो सँग २ पुगेको छ । गत बुधवार सोनवर्षी नगरपालिका ८ का १ जना ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिले कोरोना संक्रमित भएर मृत्यु भएका मृतकका एक जना आफन्तलाई आइसोलेसनमा राखिएको छ ।

मृतको शव व्यवस्थापनका लागि अहिले तयारी भइरहेको पनि कोसी अस्पतालका मेसु डा. चुमनलाल दाशले कपुरी न्युजलाई बताए । मृतक कहीँ कतै गएको ट्राभल हिस्ट्री नभएको र समुदाय स्तरमै सङ्क्रमण भएको हुनसक्ने मेसु डा. दाशको भनाई छ ।