धरान : हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।

आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।

दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा जितको लागि ३० रन आवश्यक परेको थियो । १९ औं ओभरमा रबाडाले ८ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाएका थिए ।

हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो । एनरिच नोर्कियाले ४ रन खर्चिदै जित पक्का गरे । १९ औं ओभरको दोस्रो बलमा कागिसो रबाडालाई युवा ब्याट्सम्यान अब्दुल सामदले छक्का प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो । तर तेस्रो बलमा सामद ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर किमो पलबाट ३३ रनमा समातिन पुगे ।

दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे ।

दिल्लीले मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८।२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस एरेले ४० रनको साझेदारी गरेका थिए । जेसन होल्डरको १४ औं ओभरको अन्तिम बलमा ऐर मनिष पान्डेबाट २१ रनमा समातिन पुगे । ऐरले २० बलमा १ चौका प्रहार गरे । धवन सन्दीप शर्माको १९ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएका थिए । फुलटस बलमा ठूलो सट खेल्ने धुनमा मिस भएपछि एलबिडब्लू आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरेका थिए ।