धरान : झिलझिलेको शिवसताक्षी नगरपालिकामा २ करोड ५० लाखको लागतमा लिफ्ट सहितको तालिम केन्द्र भवन निर्माण हुने भएको छ ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४ तलाको दुईवटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको हो । बुधबार एक कार्यक्रमका बिच भवनको शिलान्यास गरिएको छ ।प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले आफ्नो जायजेथाबाट खरिद गरेको २२ धुर जग्गामा भवन निर्माण हुने भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा अध्यक्ष भद्र दुमी राईले बताए ।

उक्त भवनमा सिलाइ, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने छन् । यो संगै प्रतिष्ठानको जन-सम्पर्क कार्यालय पनि भवनको एक कोठामा रहने छ । सेवाग्राही र प्रशिक्षार्थीको सुविधाका लागि भवनमा लिफ्ट जडान हुने भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको उक्त संस्थाले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमबाट २२ धुर जग्गा अनुदान पाएको थियो । सोही जग्गा क्षेत्रमा अत्याधुनिक प्रकृतिको भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको हो ।

प्रतिष्ठानकी अध्यक्ष गौतम एकल महिला हुन् । श्रीमान् र ३ छोराको अवसान भएपछि बिरक्तिएको मन बुझाउन सामाजिक क्षेत्रमा आफु क्रियाशील रहेको उनले बताएकी छन् । ‘पीर खप्न नसकेर पटक पटक आत्महत्याको प्रयास गरँ, तर समस्यासँग भाग्नु भन्दा पनि जुध्न इच्छा भएर सामाजिक क्षेत्रमा क्रियाशील बनेकी हुँ,’ उनले भनिन् ।
भूकम्प, बाढी पीडित, हावाहुन्डरी, कोभिड जस्ता दैविक प्रकोप र माहामारीमा पीडित बनेका परिवारलाई राहत, पूर्नस्थापना गर्ने कार्यमा अग्रपंक्तिमा रहेकी ईन्दिराको सामाजिक उत्तर दायित्वका काम अनुकरणीय रहेको जनप्रतिनिधिले बताउन थालेका छन् ।

भवन शिलान्यास कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद सावाँ, प्रदेश सांसद झलक दर्लामी मगर, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले गौतमको मुक्तकण्ठले प्रशंसा गरे । उनीहरुले भने, ‘समाजमा केहि गरौं भन्ने भावनाका मानिसको संख्या दिनानुदिन घट्दै गइरहेका बेला प्रतिष्ठानकी अध्यक्ष ईन्दिरा गौतमले समाज सेवाको बिंडो थाम्नुभएको छ । हामी जनप्रतिनिधिहरुले दिने हौसला, वाहवाही र सहयोग कहिल्यै कमि हुने छैन ।’ । निर्माण हुन लागेको भवनबाट शिवसताक्षी नगरकै नगरबासी लाभान्वीत हुने उनिहरुले बताए।

प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता ओझाले एकल महिलाको नेतृत्वमा स्थापित संस्था अन्य भन्दा अब्बल रहेको दाबी गरेकी छन् प्रतिष्ठानलाई हरेक तरहको सहयोग आवश्यक रहेकाले खुलेर सहयोग गर्न उनले नगरबासी र सरकारका प्रतिनिधिलाई आग्रह गरिन् । उनले भनिन्, ‘नगरको मात्र होइन, नगरबासीले पनि आफ्नो निजत्व भएको महसुस तालिम केन्द्रबाट गर्न सकुन् ।’