धरान : धरानको गोधुली क्लब धरान १७ पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा गोधुली क्लबले बराहक्षेत्रको टेकाने फुटबल क्लबलाई टाइब्रेकरमा ५ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोली गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच गोधुली क्लबका गोल किपर आशिष् कार्की घोषित भए ।

प्रतियोगिताको विजेताले नगद रु ५० हजार र उपविजेताले नगद पच्चिस हजार पुरस्कार प्राप्त गर्ने र प्रतियोगिताको राइजिग प्लेयरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै गरी प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई नगद  एकतीस सयले पुरस्कृत गरिने आयोजक पटनाली फुटबल क्लबका अध्यक्ष नगेन्द्र गिरीले बताए । फाइनल खेल शनिवार हुदैछ ।