इटहरी : धरान उपमहानगरपालिकाको गेट अगाडी एक महिला यताउता भौतारी रहेकी छिन् । धरान-१७ घर भएकी उनी आफ्नो छोराको लागी जागिर खोज्दै हिँडेको बताउँछिन् । ठिक १ बर्सअघि हालका मेयर तिलक राईले घरमै पुगेर छोरालाई जागिर दिन्छु भनेकोले आफू बारम्बार नगरपालिका कार्यालय आउने गरेको उनले सुनाइन ।

मेयरमा जिते देखी अनुहार सम्म हेर्न नपाएको बताउँदै उनले भनिन्, “राडीखुडी हुँ सर मेरो छोरालाई जागिर दिए भरपेट खान पाउँथे त्यति गरिदिए वहाँलाई मुरी मुरी धन्यवाद दिन्थे । फेरीफेरी पनि भोट हाल्थे ।”

त्यहीँ बाटोमा उपमहानगरपालिका कार्यालय तिर चिहाउँदै ट्याम्पो चलाइरहेका थिए सुमन साम्पाङ । १७ नम्बर वडा घर बताउने उनी मेयर राईकै प्रतीक्षामा छन् । चुनावको बेला कर घटाउँछु भनेको सम्झिँदै उनी भन्छन्, “तिलक राईले जित्यो भने सुकुम्वासीले लालपुर्जा पाउँछ भनेर भोट माग्यौ । चुनावमा बोकेरै हिँड्यौ । तर अहिले भेटघाट गर्नै गाह्रो छ । गाउँतिर मलाई कराएरै मार्न लागीसके । सबैले फेरीपनि चुनाव आउँला नि भन्दैछन् ।”

समस्या उनीहरूमा मात्र हैन । पदम बहादुर सार्कीले पनि कर घट्ने लोभमा भोट हालेका रहेछन् । “तिलक राईले आफुलाइ जिताएर हेर्नुस् सबै समस्याको समाधान गर्दिन्छु भन्नु भएको थियो । तर अहिले सम्म हेरेको हेरै भयौँ । न कर घट्यो न लालपुर्जा आयो ।,” उनले भने ।

धरान उपमहानगरपालिकाको उपनिर्वाचन सम्पन्न भएको १ वर्ष पुरा भएको छ । २०७४ को निर्वाचनमा विजयी मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएसँगै डेढ वर्ष कार्यबहाकको भरमा धरान उपमहानगर सञ्चालन भएको थियो । सुब्बाको निधन पछि २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भए ।

पहिलो निर्वाचनमा सुब्बा सँगै पराजित उम्मेदवार राईले उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राहीलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै इतिहास रचेका हुन् । लामो समय देखी कम्युनिस्टको गढ मानिएको धरानमा काँग्रेसको विजयलाई निक्कै महत्त्वको साथ हेरिएको थियो ।

नेपाली काँग्रेस केन्द्रीय समितिले समेत धरानको विजयलाई काँग्रेसको पुनर्जागरणको हिसाबमा विश्लेषण गरेको थियो । देशैभरि नेकपा कमजोर बन्दै गएको र काँग्रेस पुनः शक्तिशाली बनेको बुझाई नेताहरूमा देखिन्थ्यो ।

Tilak-Rai

स्थानीय सरकारले वृद्धि गरेको अव्यवहारिक कर, खानेपानीको समस्या समाधान गर्न नसकेको र सुकुम्वासीलाई लालपुर्जा बाढ्ने मुद्दा लिएर काँग्रेसले चुनावी एजेन्डा तयार परेको थियो । सोही नारालाई लिएर धरानमा काँग्रेसले इतिहास रचेको हो । उता नेकपा भित्रको आन्तरिक द्धन्दले पनि काँग्रेस विजयको बाटो खुल्ला गरेको थियो ।

तर निर्वाचन सम्पन्न भएको १ वर्ष पुरा हुँदा समेत चुनावको बेला बाचा गरेका मुद्दाहरु अधुरै देखिएका छन् । कार्यकालको मिति सकिनै लाग्दा पनि चुनावमा उठाएका एजेन्डाहरू सम्बोधन गर्नतर्फ ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित देखिन्छन् ।

अव्यवहारिक कर समायोजन गर्न भन्दै विज्ञ समिति बनाएको उपमहानगरपालिकाले अहिलेसम्म कर समायोजन गर्न सकेको छैन । कर वृद्धि गरेकै कारण चुनावी परिणाम फरक आएको भन्दै नेकपा धरान कमिटीले ०७६ मङ्सिरमै कर समायोजन गर्न ध्यानाकर्षण पत्र बुझाएको थियो ।

उता नेपाली काँग्रेस भने कार्यपालिकामा नेपाली काँग्रेस अल्पमतमा भएकोले केही गर्न नसकिएको बताउँदै आएको छ । मेयरका विश्वास पात्र मानिएका धरान नगर काँग्रेसका सचिव श्याम पोखरेल बताउँछन् । काँग्रेसले मात्र गर्ने भनेर नहुने भएकोले जनतालाई बाचा गरेजती काम गर्न नसकिएको उनको बुझाइ छ । तथापि अझै डेढ वर्ष बाकी रहेकोले खानेपानी देखी कर समायोजनका विषय सम्बोधन हुने उनको विश्वास छ ।

tampoo-chalak-1
तस्बिर : ट्याम्पो चालक सुमन साम्पाङ