नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनैतिक रूपमा विभाजन भएपछि त्यसको पराकम्पन प्रदेश तथा स्थानीय तह सम्मै पर्न थालेको छ ।

शनिवार मात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् ।

त्यस सँगै प्रदेश १ का मुख्यमन्त्रीको पद पनि धरापमा हुने सङ्केत देखा परिसकेको छ । मुख्यमन्त्री विरुद्ध हस्ताक्षर सङ्कलन गरेको आरोप लागेका मन्त्री आङ्बो सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको संक्षिप्त कुराकानी ।

मुख्यमन्त्रीले मन्त्री पदबाटै हटाउनुपर्ने के कारण परेछ त्यस्तो ? 
त्यो वहाँको विवेकको कुरा हो । अब हामीलाई अविश्वासको प्रस्ताव पेस गर्ने बाटो खुल्यो । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।

मन्त्रीबाट हट्दा कुनै आश्चर्य लागेन ?
लागेन, अब हाम्रो पार्टी नै अलग भएपछि समस्या धेरै देखीनै पर्दैन । मैले अघि नै सामाजिक सञ्जाल मार्फत वहाँलाई धन्यवाद दिइसकेको छु । अब हामी आफ्नो हिसाबले अगाडी बढ्छौ ।

यसको मतलब मुख्यमन्त्री फेर्ने रणनीति हो ? 
हो । हामी केही दिनमै अविश्वासको प्रस्ताव दर्ता गर्छौ । त्यसपछि नयाँ सरकार गठनको लागी बाटो खुल्छ । अहिले यति भनिराखौँ ।

अब कसलाई मुख्यमन्त्री बनाउँदै हुनुहुन्छ ? 
कसलाई भन्ने टुङ्गो भइसकेको छैन । पार्टी भित्र छलफलपछि निर्णयमा पुग्छौ ।

नेपाली काँग्रेससँग मिलेर सरकार बनाउने तयारी थाल्नु भएको हो ?
नेपाली काँग्रेस आवश्यक पर्दैन । अहिले हामी नै बहुमतमा छौ । सरकार गठनको विषयमा कुरा भएको छैन । अहिले अविश्वासको प्रस्तावको विषयमा मात्र छलफल भएको छ ।

तपाई आफैले मुख्यमन्त्री विरुद्ध हस्ताक्षर सङ्कलन गर्न थालेपछि यो अवस्था आएको भन्छन् नि ?
त्यो कुनै नौलो कुरा हैन । मैले अघि नै भनिसके वहाँ र हाम्रो पार्टी अलग भएपछि मुख्यमन्त्री विरुद्ध लाग्नु अस्वभावीक हैन । हामीले हस्ताक्षर सङ्कलन गरिसकेका छौ । अब दर्ता हुन मात्र बाँकी छ ।

तपाई रामबहादुर थापा (बादल) निकट नेता अहिले बादलको साथ छाड्नु भयो नि किन ?
राजनीतिमा यस्तै हो । पहिला वहाँ सँग बिचार मिल्यो सँगै काम गरियो । अहिले वहाँ फरक बिचारको साथ अगाडी बढ्न खोज्दै हुनुहुन्छ जुन मेरो नैतिकताले दिएन । यसमा ठुलो कुरा केही छैन ।

अन्त्यमा , प्रदेश मन्त्रीको अढाई बर्षे कार्यकाल कस्तो रह्यो ?
सङ्घीयताको नयाँ अभ्यास हामीले सुरु गरेका थियौ । प्रदेश संरचनाको जग हाल्ने काम भयो । कतिपय हिसाबमा राम्रा कामहरू सुरु भएका छन् । मेरो व्यक्तिगत हिसाबमा म सन्तुष्ट छु ।