झापा : झापाको कमलमा नामको विवादका कारण रङ्गशाला निर्माणको काम अलपत्र परिरहेको बेला झापाकै अर्को स्थानीय तहमा भने रङ्गशाला निर्माणको काम सुरु भएको छ ।

झापाको कमलमा आदिवासी रङ्गशाला या मदन भण्डारी रङ्गशाला भन्ने बि बादले अल्झिएका बेला झापाको कचनकवल गाउँपालिकामा भने रङ्गशाला निर्माणको काम सुरु भएको हो ।

कचनकवल-६ मा रहेको लक्ष्मी माविको जग्गामा रङ्गशाला निर्माण सुरु गरिएको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए । अढाई बिघा क्षेत्रमा रङ्गशाला निर्माण सुरु भइसकेको बानियाँले बताए ।

विद्यालयको ४ बिघा जग्गा स्थानीय नागरिकले जोतभोग गर्दै आएको थिए । ४० वर्षदेखि स्थानीय किसानले उपयोग गर्दै आएको जग्गा विद्यालयकै स्वामित्वमा फिर्ता ल्याएर रङ्गशाला निर्माण गरिएको हो ।

अढाई बिघामा रङ्गशाला बन्दै छ, बानियाँले भने  बाँकी जग्गा पनि खेलकुदकै लागि प्रयोग गरेर खेल क्षेत्रको विकास गरिने छ ।

रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ र प्रदेश १ सरकारले १५ लाख सहयोग गरेको थियो । कचनकवल गाउँपालिकाले समयमा ठेक्का नलगाएका कारण प्रदेशको १५ लाख फ्रिज भएको सांसद बानियाँले बताए ।

उनका अनुसार रङ्गशाला निर्माणका लागि गाउँपालिकाले चासो नदिँदा १५ लाख फ्रिज भएको हो । राष्ट्रिय खेलकुद परिषद्बाट ल्याएको १५ लाखबाट मैदान बनाउने र पर्खाल लगाउने काम थालिएको बानियाँको भनाई छ । त्यसपछि क्रमशः रङ्गशाला निर्माणका लागि बजेट माग गरिने र बजेट आएपछि थप निर्माण कार्य अघि बढाइने बताइएको छ ।