धरान : धरान उपमहानगरपालिकाको गौरबको योजना अन्तर्गत कालो पत्रे गरिएको रेडक्रस विजयपुर चौक सडक हस्तान्तरण नै नगरी उक्किएको छ ।

पिच गरिएको तीन दिनमै पिच भत्किएको सामाजिक सञ्जालहरूमा फोटो पोस्ट गरी विरोध जनाइए पछि अहिले पिच उक्किएको ठाउँमा पुनः पिच मर्मत गरिँदै छ ।

सामाजिक सञ्जालहरूमा कमसल सामाग्री प्रयोग गरी गुणस्तरहीन सडक निर्माण गरिएको भन्दै आलोचना गरिएको छ । विजयपुर जाने ठुलो योजनाको सडक पिच भएको ३ दिनमै भत्किए पछि १४ नम्वरबासीले आक्रोश व्यक्त गरेका छन् ।

विजयपुर पथ सडक तथा ढल निमार्ण कार्य आयोजनाको नाममा २०७६ साल वैशाख ९ गते निमार्ण कार्यको सम्झौता गरी सोही दिन निमार्ण कार्य सुरु भएको थियो । आर्सीवाद ब्राइटबुल शाह जे भिले ८ सय ३० मिटर सडक निर्माणको ठेक्का लिएको थियो ।

सो सडक निर्माण गर्नका लागि आयोजनाले ३ करोड १ लाख ३६ हजार ८२ रुपैयाँ ९० पैसामा लागतमा ठेक्का लिएको योजना अधिकृत किरण भुजेलले जानकारी दिए । तर,सूचना पाटीमा ठेकेदारको नाम र निमार्ण कार्य सम्पन्न गर्नु पर्ने मिति मेटिएको छ ।

बाटोको इन्जिनियर सौहार्द श्रेष्ठ सँग यस विषयमा कुरा गर्दा उनले भने हाल भत्किएको बाटो पिच गर्दा राति भएको थियो । अँध्यारोमा बत्तीको व्यवस्था थिएन । पिच गर्दा राम्रो सँग रोलिङ हुन पाएन ।

राती भएकाले बाँस लगाएर बाटो बन्द पनि गरिएन । त्यसैले पिच गरेको नसुक्दै सवारी साधन कुद्न थाले । त्यस कारण कालोपत्रे भत्किएको उनले बताए ।

काम सुरु गरेको १८ महिनामा सम्पन्न गर्नु पर्ने हो । तर कोभिड १९ का कारणले ८ सय ३० मिटर लम्बाइको बाटो हाल ७ सय ९० मिटर मात्र पुरा गरिएको छ ।

अझ काम गर्ने बाँकी भएकाले पुन स् म्याद थप गरेको उनले बताए । भत्किएको स्थान देखि हात्तीसारको ग्राउण्ड सम्म पुनस् पिच गरिने श्रेष्ठले बताएका छन् । पिच पुरा नभएकाले भुक्तानी पनि महानगरपालिका रोकेको छ ।

Bijayapur-Sadak-2

बिजयपुरबासी विष्णु श्रेष्ठले यसअघि पनि कालोपत्रे लगाएको एक दिनमा नै पानी परेर क्षति भएको बताए । यस पटक पनि धुलो सडकमा पिच गरेकोले पिच भत्किएको उनको दाबी छ ।

४० एमएमको पिच हुनुपर्नेमा पातलो मात्रै पिच गरिएको उनले बताए । उनले भने यो सडकको आयु लामो छैन भने टिकाउ पनि हुँदैन जस्तो छ ।

धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईका अनुसार बाटोमा हाल देखिएको समस्यालाई लिएर आर्सीवाद ब्राइटबुल शाह जे भिका प्रोप्राइटर लगायत धरान उपमहानगरपालिका नगर प्रमुखलाई जानकारी गराएर बाटोका साइड इन्चार्ज र इन्जिनियर लगायतको टोली सँग छलफल गरी पुन रि-पिच गरिने बताए ।

आर्सीवाद ब्राइटबुलका प्रोप्राइटर केशव बुढाथोकी सहित अन्य ४ जना ठेकेदार निमार्ण कार्यमा संलग्न रहेका छन् । विजयपुर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले धेरै मानिस आउजाउ गर्ने मुख्य सडक भएकोले असफाल्ट प्रविधिबाट सडक कालो पत्रे गरिएको हो ।

धरान १४ को सबैभन्दा बढी बजेटको सडकमा यसरी लापर्वही भएको प्रति निर्माण व्यावसायीसंग यसबारेमा कुरा गर्दा सडक पिच गर्नेक्रममा असफाल्ट कंङक्रिट तयारी गर्नेक्रममा केही समस्या भएकोले पिच उक्किएको हुन सक्ने बताएको छ ।

तर धरान उपमहानगरपालिकाको गौरबको आयोजनामा यस्तो लापर्वही भएकोमा विजयपुरबासीले भने आक्रोश व्यक्त गरेका छन् ।

विजयपुरबासी भन्छन् धरान उपमहानगरपालिकाले यो समस्यालाई गम्भिररुपमा लिएर छानबिन गरी पुनः सडक राम्रो र बलियो बन्नुपर्छ ।

Bijayapur-Sadak-3