इटहरी : स्थायी प्रतिपक्षीको रूपमा रहेको इटहरी नागरिक समाजको लामो समयदेखिको मौन अवधि अझै पुरा भएको छैन । स्थानीय सरोकारका विषयमा रचनात्मक देखिँदै आएको नागरिक समाज पछिल्लो समय निष्क्रिय देखिन थालेको हो ।

इटहरीका हरेक समस्याका विषयमा नागरिक समाज गुपचुप छ । २ वर्ष अघि सडकमा निर्माण सामग्री राख्न र बलेँसीको निकास राख्न रोक्नुपर्ने विज्ञप्ति निकालेपछि इटहरी नागरिक समाज गुप्तबासमा छ । पछिल्लो समय महामारीको रूपमा देखिएको कोभिड-१९ को व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाको भूमिकाको बारेमा समेत कुनै प्रतिक्रिया जनाएन । आइसोलेसनको व्यवस्थापन कमजोर भएको कुरा बाहिर आउँदा समेत नागरिक समाज मौन नै रह्यो ।

कोरोना महामारीको नाममा सङ्कलन भएको राहत र उपमहानगरको तर्फबाट भएको खर्चको विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । त्यससँगै सार्वजनिक शौचालय र पार्किङको समस्याले इटहरी दिनानुदिन अव्यवस्थित बन्दै गइरहेको छ । स्थानीय सरोकारका अन्य कैयन विषयमा नागरिक समाजले कुनै खबरदारी गरेको देखिँदैन ।

इटहरीवासीले भोगीरहेको स्वास्थ्य समस्या देखी निजी शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत दिनुपर्ने १० प्रतिशत छुटको विषयमा कहिल्यै खबरदारी भएको पाइँदैन । उद्योग वाणिज्य सङ्घको निर्वाचनमा गुन्जिएको घर बहाल कर देखी साना व्यापारीको बिमाको विषय पनि अहिले ओझेलमा छ । इटहरीमा रात्रिकालीन बजार व्यवस्थापनको नाममा लाखौँ खर्च भयो तर अहिले सम्म त्यसको सुरुवात हुन सकेको छैन ।

फोहोरमैलाई व्यवस्थापन नहुँदा चारकोशे झाडी मासिँदै गएको छ । जङ्गलको फोहोर जलेर निस्कने धुवाले इटहरी-१९ भवानीपुरका स्थानीयवासी श्वासप्रश्वासको समस्या देखा पर्न थालेको छ । बजार क्षेत्रमा बढ्दो धुलो धुवाको कारण आगन्तुक र स्थानीय आजित भइरहेका छन् । तर त्यसको विषयमा खबरदारी गर्नुपर्ने नागरिक समाज आफै बेपत्ता भएको छ ।

राजनैतिक दलहरू आआफ्नै स्वार्थको कारण चुप लागिरहेको अवस्थामा नागरिक समाज खरो उत्रिनुपर्ने जरुरत छ । संविधानमा स्थानीय तहमा कुनै पनि प्रतिपक्षी दलको कल्पना नगरिएकोले नागरिक समाज नै स्थायी प्रतिपक्षीको जिम्मेवारीमा देखिन्छ ।

यस्तो अवस्थामा नागरिक समाज झनै सक्रिय हुनुपर्ने तर्क गर्छन् युवा व्यवसायी दिवस पोखरेल । राजनैतिक दलहरू दबाब र प्रभावमा परे पनि नागरिक समाजले स्वतन्त्र नागरिकको पक्षमा पहरेदारी गर्नुपर्ने उनको बुझाई छ ।

उपमहानगरको अपारदर्शी कदम र अव्यवस्थित कामले जनतालाई सास्ती भइरहेको भन्दै नागरिक समाजले खबरदारी गर्नुपर्ने उनको भनाई छ । कसैले बोल्ने आँट नगर्दा स्वेच्छाचारी मैलाएको उनी बताउँछन् ।

पोखरेलको जस्तै तर्क गर्छन् युवा अभियन्ता सन्दीप पौडेल । इटहरीको विकासमा हरेक नागरीकले आफ्नो भूमिका खोज्नुपर्ने अवस्थामा जनताको आवाज बोक्ने नागरिक समाज भने मौन हुन नहुने उनको भनाई छ ।

उता नागरिक समाज इटहरीका अध्यक्ष सन्त बहादुर बाटोघाटोको विषयमा बोलिरहेको बताउँछन् । आफूहरूले थाहा पाएजती विषयमा कुरा उठाइरहेको उनको भनाई छ ।