पथरी : मोरङको पथरी शनिश्चरेमा ५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ शुक्रवारवाट सुरु भएको छ ।

शुक्रवारको उद्घाटन खेलमा दुधे फुटबल क्लब, झापा विजयी बनेको छ । पथरीशनिश्चरे फुटबल क्लबलाई १-३ गोलले पराजित गर्दै दुधे फुटबल क्लब अघिल्लो चरण प्रवेश गरेको हो ।

पथरीशनिश्चरे-१० को पथरी रङ्गशालामा सुरु भएको प्रतियोगितामा शुक्रवारको खेलको ७ औँ र २३ औँ मिनेटमा दुधे फुटबल क्लबका लागी सनम राईले गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा श्याम मुर्मुले थप १ गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । पथरीशनिश्चरेका लागी भने सन्तोष गुरुङले १ गोल फर्काए ।

७ औँ मिनेटमा श्याम मुर्मुको फ्री-किकको मद्दतमा सनमले पहिलो गोल गरे । त्यस्तै खेलको २३ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सनमले दोस्रो गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा दुधे फुटबल क्लबका श्याम मुर्मुले गरेको लामो प्रहार पथरीका गोलरक्षक मनोज दाहाल ठम्याउन नसक्दा गोलले जाली चुम्यो ।

खेलको ५७ औँ मिनेटमा पथरी शनिश्चरेका सन्तोष गुरुङले टिमका लागि १ गोल गरे जुन गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । उद्घाटन खेलको मेन अफ द म्याच, विजेता टोलीका सनम राई घोषित भए । उनले नगद २५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिवार को खेल टेन नवोदय फुटबल क्लब पथरीशनिश्चरे र उर्लाबारी फुटबल क्लब बिच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

नेपालबाट तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । मोरङको पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरका सक्रिय युवाहरूको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्ध्यवासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ ब्रदर फुटबल क्लब, टेन नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजकको २ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।