शिबसताक्षी : तेस्रो शिबसताक्षी मेयर कप खेलकुद (मिनी ओलम्पिक)-२०७७ , यही फागुन १७ गते बाट सञ्चालन हुने भएको छ । प्रतियोगिताको बारेमा आज नगरपालिकाको कार्यालयमा नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगिता विभिन्न ८ विधामा १७ वटा खेल सञ्चालन हुने बताइएको छ । जस अनुसार फुटबल , भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबड्डी, कराँते ,र एथलेटिक्सका खेलहरू हुनेछ । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरूको सहभागिता रहने छ ।

खेलमा फुटबल विधाका विजेताले ७५ हजार , भलिबलले ५०हजार, क्रिकेटले ५० हजार, कबड्डीले १५ हजार ,ब्याडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङ्गलले ५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाण पत्र पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्ब तामाङले बताए ।

खेलहरू भलिबल , शिबसताक्षी-३ पाराबारीमा हुनेछ भने फुटबल दुधे रङ्गशालामा हुनेछ ,त्यसैगरि क्रिकेट झिलझिलेमा ,कराँते माइधारमा ,कबड्डी माइधार , चेस दुधेमा र एथलेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेलले जनकारी दिए ।

उक्त प्रतियोगिताको समापन फागुन २८ गते हुनेछ । शिबसताक्षी नगरपालिकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उद्देश्यका साथ शिबसताक्षी मेयर कप सुचारु भएको हो । यस अघिको मेयर कपबाट नगरले विभिन्न राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गरी सकेको छ ।

हाल सम्म फुटबल तर्फ अन्डर १३ मा देव मल्लिक, अन्डर १४ निकेश श्रेष्ठ , अन्डर १८मा संजित राई छनौट भइसकेका छन् । त्यसैगरि प्रदेश स्तरीय खेलमा एथलेटिक्स बाट निशा माझी,भलिबलमा सुजन रिजाल,क्रिकेटमा सजन थपलीय छनौट भइसकेको नगर खेलकुद विकास समितिले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७मा हुनुपर्ने तेस्रो मेयर कप कोभिड १९ को प्रकोपको कारण हुन नसके पछि आर्थिक वर्ष ०७७/०७८ मा हुन लागेको हो ।

तेस्रो मेयर कप खेलकुद सञ्चालन गर्न नगर खेलकुद विकास समिति मार्फत चालु आर्थिक वर्ष ०७७/०७८का लागी १५ लाख रकम विनियोजन भएको छ ।

त्यसैगरि सोही अवसरमा नगर कप खेलकुदलाई सफल बनाउन नगरका ११ वटै वडाको खेलकुद वडा समितिलाई विधागत खेलकुद सामग्री प्रदान गरिएको छ । उक्त सामाग्री पूर्व प्रतिनिधि सभा सदस्य एलपी साँवा र नगर प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा हस्तान्तरण गरे ।