धरान : भोलि फागुन ८ गते हुने ९ औं संस्करणको प्रभु बैङ्क धरान १० के रन नवौँ नेवा च्यारिटीको सम्पूर्ण तयारी पुरा भएको छ ।

शनिवार बिहान साढे ७ बजे धरान-९ को पुतली लाइनबाट दौड सुरु हुनेछ भने सो दौड दुर्गा चोक,बुद्ध चोक,रत्न चोक मंगलबारे , कल्याण चोक , चतरा मार्गको पानी टङ्की,स्टेडियम जानकी चोक, जिरो पोइन्ट, अमर हाट, रेडक्रस, विजयपुर चौक हुदैं पिण्डेश्वर ,पुरानो बजार हुँदै देशी लाइनमा आएर दौड समाप्त हुनेछ ।

धरान लगायत देशभरका १ सय ५० प्रतिस्पर्धी सो रनमा दौडिँदै छन् । अध्यक्ष रमु राईका अनुसार ‘शिक्षाका लागि च्यारिटी दौड’ नारा दिइएको सो प्रतियोगिता १ घण्टा हुनेछ ।

यस पटक कोरोनाको कारण ट्रायलमा सहभागी पुरुष ४० मिनेट र महिला ५० मिनेटमा दुरी पार गर्ने ओपन क्याटगरीको आधारमा र धरान बाहिरबाट मोबाइल एप्स अनि सर्टिफिकेटको आधारमा १ सय ५० जनालाई मात्र सहभागिता गराइएको धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । उनले भने 'इमेल र कलबाट पनि नाम टिपाउने क्रम जारी छ तर, हामीले यस पटक सरी नै भन्यौँ ।'

प्रतियोगितामा सहभागी हुन धरान बाहिरका धावक धाविकाहरूका साथै अतिथिहरू पनि धरान आइसकेको आयोजक धरान रनले जनाएको छ । भारत र नेपालका विभिन्न जिल्लाबाट आउनुपर्ने धावक धाविकाहरू पनि आइसकेको अध्यक्ष रमु राईले बताए ।

विश्वको दोस्रो अग्लो हिमाल के टु हिउँद महिनामा पहिलो पटक आरोहण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालको १० जनाको टोली आज धरान आइसकेका छन् । उनीहरूसँगै चर्चित गायक राजु लामा र पूर्व मिस नेपाल मलिना जोशी पनि धरान आइसकेकी छिन् । उनीहरूलाई विराटनगर विमानस्थलमै स्वागत गरिएको छ ।

आज दिउँसो गजुर प्यालेसदेखि भानुचोक स्थित धरान रन कार्यालयसम्म अतिथिहरुलई साकेला नाच तथा सांस्कृतिक झाँकी सहित स्वागत सम्मान गरिएको थियो । शनिवार धरान १० के रनको पुरस्कार वितरण समारोहमा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Dharan-Run-Map

नेवा च्यारिटीको टी सर्ट र मेडल सार्वजनिक

आयोजक टिमले प्रतियोगीहरूलाई दिने टी सर्ट तथा मेडल पनि सार्वजनिक गरेको छ ।
यसपालि ९ औँ संस्करणमा विगतमा जस्तो विभिन्न उमेर समूह तथा भेट्रान क्याटगोरीमा सहभागी हुनेलाई पुरस्कार दिइने छैन ।

खुला महिला र पुरुषको मात्र दौडस्पर्धा हुनेछ भने दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकाहरूले क्रमशः ट्रफी, मेडलसहित नगद ५० हजार, ३० हजार र २० हजार पाउने छन् । चौथो र पाँचौँ हुनेलाई पनि सान्त्वना पुरस्कार दिइनेछ ।