धरान : प्रदेश १ को धरानमा निर्माण भएको छोटो चलचित्र 'द रेडमुन' ले ‘ बेष्ट नेसनल डिरेक्टर अफ फोटोग्राफी’ अवार्ड हात पार्न सफल भएको छ।

धरानका पुराना चलचित्रकर्मीहरूको सक्रियतामा निर्माण गरिएको ‘द रेडमुन’ ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘बेष्ट नेसनल डिरेक्टर अफ फोटोग्राफी’ अवार्ड हात पारेको हो।

काठमाडौमा सम्पन्न एक समारोहका बिच चलचित्र निर्माण युनिटलाई अवार्ड प्रदान समेत गरी सकिएको नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ जनाएको छ ।
धरानमै छायाङ्कन भएको ‘द रेडमुन’लाई नवीन मेन्याङबो सुब्बाले निर्माण गरेका हुन भने थिएटर साहारा धरानले प्रस्तुत गरेको हो।

१० बर्षे लामो सशस्त्र माओवादी द्वन्द्व यथार्थपरक कथालाई चलचित्रमा २० मिनेटमा अटाइएको छ। उक्त चलचित्रलाई पुराना चर्चित छायाकार लुजा सिंहले खिचेका हुन् ।
रबिन श्रेष्ठको कथा लेखन तथा निर्देशन रहेको चलचित्रले यो अवार्ड जित्नुको पछाडि छायाङ्कन पक्ष उत्कृष्ट रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।

चलचित्रमा वरिष्ठ कलाकार प्रेम सुब्बा, विजय सुब्बा, विशाल श्रेष्ठ, हिमाल दाहाल, एकराज सुब्बा, तुलसा थापा, कैलाश कार्की, मिहाङ राई, रानुराज थेगिम, कमल अधिकारी, सुमिना खड्गी र बाल कलाकार आरोही श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।