तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको घोषणा गरेको छ। अन्तरिम सरकारको घोषणा गर्दै अफगानिस्तान अब ‘इस्लामिक अमिरात’ भएको जनाएको छ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानका संस्थापकमध्येका एक मुल्ला मोहम्मद हसन अखुंदलाई सरकार प्रमुखमा चयन गरिएको बताएका छन्।

साथै मुल्ला अब्दुल गनी बरादरलाई सरकारको उपप्रमुख बनाइएको उनले बताएका छन्।

उपप्रमुख बनाइएका बरदार तालिबानका सह(संस्थापक हुन्।

प्रवक्ता मुजाहिदले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर अखुंदको नेतृत्वमा गठन हुने सरकारमा मुल्ला याकुल रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री रहने जानकारी दिएका छन्।

हक्कानी अमेरिकी एजेन्सी एफबिआइको ‘बान्छित आतंकवादी’ सूचीमा छन्। उनी हक्कानी नेटवर्कका प्रमुख हुन्।

तालिबानका प्रवक्ता मुजाहिदले अहिले गठन गरिएको सरकार अन्तरिम रहेको बताएका छन्।