धरान : गत सोमबार सङ्खुवासभाको मादी-१ उमलिङको खोला गाउँमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक जना छिमेकी पक्राउ परेका छन् ।

घटना घटेको ६ दिन सम्म आईपुग्दा प्रहरीले केही 'क्लु' र केही व्यक्तिमा माथी आफ्नो अनुसन्धान केन्द्रित गरेको थियो । सो क्रममा अहिले सम्म प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको थियो ।

यसबारेमा भने प्रहरीले अरूलाई पक्राउ नगरेको बताएको छ । हिजो शुक्रवार थप अर्को शङ्कास्पद व्यक्ति माथि आफ्नो अनुसन्धान अघि बढाएको र हिजै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामूहिक हत्या प्रकरणमा संलग्नलाई भोलि आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको घटना घटेको दिन देखि अनुसन्धानमा निरन्तर खटेका सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले बताए ।

पक्राउ परेका व्यक्ति छिमेकी रहेको बताइएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ ।

घटना के कारणले भएको हो ? कसरी भयो ? भन्ने बारेमा भने अनुसन्धान टोलीले केही खुलाएन । आइतबार सार्वजनिक गर्दा मात्रै सबै विवरण खुलाइने बताइएको छ ।

घटना घटेको दिन देखि घटनास्थलमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको टोली, त्यस पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली र प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी समेतको ठुलै प्रहरी टोली घटनास्थलमा परिचालित भएका छन् । घटना घटेको दिन देखि प्रहरीले अनुसन्धानका लागि स्थानीयसँग व्यापक सोधी खोजी गरेको थियो ।

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो ।

५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।