धरान : सङ्खुवासभाको मादी नगरपालिका–१ को उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या काण्ड रहस्यमय बन्दै गएको छ ।

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । मुख्य अभियुक्त लोकबहादुर कार्कीका भाइ नरेश उनका बुबा, काका, काकी र दुई जना छोराहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ५ जनामाथि प्रहरीले अनुसन्धान थालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाई छ ।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खादबाँरी लगिएको छ । अहिलेसम्म प्रहरीले आधिकारिक रूपमा पक्राउ पर्नेहरूको बारेमा भने कसैलाई जानकारी दिएको छैन । तर प्रहरीले केही दिन भित्रै मादी हत्या काण्डका विषयमा सार्वजनिक गर्ने जनाएको छ ।

अनुसन्धानका क्रममा रहेकाले अनुसन्धानमा राखिएकाहरूको नाम प्रहरीले बताएको छैन । अनुसन्धानको दायरामा परेका ६ जना मध्ये केही व्यक्ति हत्यामा समेत संलग्न हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको एक अनुसन्धान अधिकृतले कपुरी न्युजलाई जानकारी दिए ।

लोकबहादुरको घरमै मृतक रञ्जनाको मोबाइल फेला परेपछि प्रहरीले लोकबहादुरको भाइ नरेश माथि अनुसन्धान सुरु गरेको हो । लोकबहादुर र उनका भाइ नरेशसँगको बयानका आधारमा प्रहरीले थप ५ जनालाई प्रहरी अनुसन्धानको दायरामा ल्याएको प्रहरीले बताएको छ ।

घटनाको पाँचौँ दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरिएको थियो । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटना स्थल केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदीले बताए ।

हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहीबार मोबाइल भेटिएको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै गायब थियो । मोबाइल बन्द भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि थप प्रहरीको टोली घटना स्थल पुगेर पुनः अनुसन्धानमा लागेका छन् ।

लोकबहादुरलाई सार्वजनिक गरेकै दिन सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगमबहादुर कुँवरसहितको अनुसन्धान टोली घटना स्थलबाट फर्किएका थिए ।

थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको १० जनाको टोली भने घटना स्थलमै थियो । सामूहिक हत्याको आरोपमा गएको आइतबार प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

मादी नगरपालिका–१ का ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।