इलाम : इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा भोलिबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुने भएको छ।

कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। ४० वर्षमाथिका भेट्रानहरु बिच हुने प्रतियोगितामा भारत दार्जिलिङको २ टिम सहित सूर्योदय नगरपालिका भित्रका ४ टिम तथा इलाम नगरपालिका र रोङ गाउँपालिकाको एक/एक टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सुकिया भेट्रान्स दार्जिलिङ, इलाम भेट्रान्स, दार्जिलिङ भेट्रान्स, सूर्योदय भेट्रान्स, भेट्रान्स रोङ-११ आहाले भेट्रान्स, पेम्वा सेभेन र युनाइटेड भेट्रान्सले सहभागिता जनाउनेछ । प्रतियोगिताको पहिलो दिन पहिलो चरणको ४ खेल हुनेछ। प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली सुकियाले इलाम भेट्रान्सको सामना गर्दैछ । आहाले भेट्रान्सले पेम्वा सेभेन, सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ-११ तथा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सको सामना गर्ने तय भएको छ । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको बिजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

खेलको माध्यमबाट सूर्योदय नगरपालिका र पर्यटन प्रर्वद्धन हुने आयोजक कान्दुक रिक्रिसनका संचालक रुपेन गुरुङले बताए । भेट्रान्सहरुलाई समेत खेलकुदमा प्रेरित गराउनका लागि ४० बर्ष माथिकाहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनले भुटानको टिम समेत सहभागिता गराउने लक्ष्य भएपनि प्राविधिक समस्याका कारण सम्भव नभएको बताए।

उनले निकट भविष्यमा त्रिदेशीय प्रतियोगिता आयोजनाको गरिने जानकारी दिए। ५१ हजार रुपैयाँ पुरस्कार राशि राखेर प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य राखिए पनि आर्थिक समस्याका कारण राशि घटाउनुपरेको उनले बताए । यसअघि गत महिना सूर्योदय नगरपालिका स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।