धरान : हिमालय मेघा कलेज द्वारा शनिवार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महा सङ्घ सुनसरी विजयी भएको छ ।

महासङ्घले फाइनल खेलमा एनप्याब्सनका शिक्षक टिमलाई १२-१० गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण फुटसलको उपाधि हात पारेको हो । विजेता महासङ्घले नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता एनप्याब्सनले नगद ३ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरेको छ ।

तीन टिम सहभागी मैत्रीपूर्ण प्रतियोगितामा एनप्याब्सनले हिमालय मेघा टिमलाई १३-४ गोल अन्तरको फराकिलो जित हात पार्दै फाइनल प्रवेश गरेको थियो भने पत्रकार महासङ्घ टिम बाइ पाएर सिधै फाइनल खेल खेलेको थियो । फाइनल खेलमा पत्रकार टिम बाट धिरेन लिम्बुले सर्वाधिक ६ गोल गरेका थिए ।

धरान १२ न. वडामा रहेको हिमालयन मेघा कलेजले दशै, तिहार एवं छठ पर्वको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश आङ्देम्बेको अध्यक्षतामा गरिएको सो प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ, सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई, एनप्याब्सन धरान नगर अध्यक्ष भगत सुब्बा, नगर कोषाध्यक्ष वसन्त राई, १ नम्बर प्रदेश सदस्य सागर खड्का र १ नम्बर प्रदेश सदस्य प्रवास राजवंशीको उपस्थिति रहेको थियो ।

विशेष गरेर एनप्याब्सन शिक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएको साथै धरानको शिक्षालाई सञ्चारमाध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन सदा शैक्षिक संस्थाको साथमा रहने पत्रकार महासङ्घसँगको मैत्रीभाव बढाउने उद्देश्यले यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको अध्यक्ष आङ्देम्बेले बताए ।

मैत्रीपूर्ण खेलपछि हिमालयन मेघा कलेजको हाता भित्र रहेको सभा हलमा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।