विराटनगर : मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा सिटिजन्स बैङ्क लुटपाटको प्रयास गर्ने तीन जना पक्राउ परेका छन् । दुई भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरका ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार छन् । अर्का विराटनगर महानगरपालिका-३ मुनाल पथका ३२ वर्षीय श्याम मुखिया छन् ।

लुटपाटको प्रयासपछि भाग्दै गर्दा प्रहरीले उनीहरूलाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। भाग्दै गर्दा प्रहरीले चलाएको गोली लागेर बहरदार घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ। घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

तीन जनालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले बताए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको छ ।

लुटेराले प्रयोग गरेको को २५ प ३८९९ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ। लुटपाटमा प्रयोग भएको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङबाट बरामद गरेको हो ।

लुटेराको समूहले पैसा लिएर गएको देखिए पनि कति रकम लिएर गए भन्ने नखुलेको प्रहरीले बताएको छ। प्रहरी उपरीक्षक जिसीले लुटपाट भएको विषयमा अनुसन्धान जारी रहेको बताए ।

सोमबार दिउँसो सिटिजन्स बैङ्कको कर्सिया शाखामा लुटेरा समूह प्रवेश गरेको थियो। सो क्रममा लुटेरा समूहले चलाएको गोली लागेर सुरक्षा गार्ड शीतल कुवर घाइते भएका छन् ।

लुट्न गएको समूहको पेस्तोल खोस्न खोज्दा उनीमाथि गोली प्रहार भएको थियो । घाइते कुवरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।