इटहरी : विश्व दृष्टि दिवसको अवसर पारेर इटहरीमा लाइभ कन्सर्टको आयोजना गरिएको छ। ‘म्युजिक फर भिजन’ को उद्देश्य सहित आँखालाई माया गरौँ भन्ने नारा सहित कन्सर्ट आयोजना गरिएको हो।

आँखाको ज्योति गुमाउनुपर्ने बाध्यतामा रहेका बालबालिकाको उपचारमा सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो ।  विश्वभर १४ अक्टोबर २०२१ का दिन ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ दृष्टि दिवस मनाईदैछ। सोही अवसरमा इटहरीको सङ्गीत चोकमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको हो । नेपाल म्युजिक फेस्टिभल, ग्लोबल आँखा अस्पताल र सङ्गीत साधना प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

म्युजिकले मानिसलाई आकर्षित गर्ने मात्र नभएर उत्प्रेरणा पनि दिने भएकाले सङ्गीत मार्फत सचेतना जगाउन खोजिएको नेपाल म्युजिक फेस्टिभलका फाउन्डर रञ्जन ओझा बताउँछन् । यो एउटा सुरुवाती अभ्यास भएकाले आगामी दिनमा यस अभियानमा थप साङ्गीतिक कार्यक्रम बढाउँदै लगिने उनले बताए।

ग्लोबल आँखा अस्पतालका सञ्चालक तथा तिलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टर बेन लिम्बुका अनुसार इटहरीमा रहेका युवाहरूले आफ्नो समाजमा योगदान गर्ने लक्ष्यसाथ कार्यक्रम तय गरिएको हो । “आफ्नो आँखालाई माया गरौँ” सङ्गीत दृष्टिको लागि भन्ने अठोटका साथ सडक लाइभ कन्सर्ट आयोजना गर्दै आँखा रोगबारे जनचेतना जगाउने काम भएको उनले बताए । बिहीबारको दिन विपन्न परिवार र आर्थिक अवस्था कमजोर भएका १० जना मोतीबिन्दु बिरामीहरूको ग्लोबल आई हस्पिटलले निःशुल्क सर्जरी गरेको उनले जानकारी दिए।

सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले सङ्गीतलाई मानव सेवाको अभियानको रूपमा अगाडी बढाउने प्रयास गरिएको बताए । सोही कन्सर्टमा सङ्गीत साधनाकै १२ जना विद्यार्थीले प्रस्तुति दिएको उनको भनाई छ । सहयोगको लागी राखिएको डोनेसन बक्समा ६ हजार ७ सय ५० सङ्कलन भएको उनले जानकारी दिए ।

ईन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस र विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर २२० करोड मानिसहरूमा न्यूनदृष्टी वा दृष्टिविहीन समस्या देखा परेको छ । त्यस मध्ये पनि १०० करोड आँखा बिरामीहरू उपचार पाएर पुनः आँखा देख्ने भएका छन् भने धेरै जसो उपचारको सुविधाबाट वञ्चित रहेको पाइएको छ ।

कुल बिरामी मध्ये ७५ प्रतिशत बिरामीहरू विकासोन्मुख देशहरूका बासिन्दा भएको अध्ययनले देखाएको छ । न्यूनदृष्टी वा दृष्टिविहीनको प्रमुख कारणहरूमा उपचार नपाएका दृष्टि मानिसहरू दोष मोतीबिन्दु, उमेरको कारणले पर्दा बिग्रनु, जल विन्दु, मधुमेहले पर्दा बिग्रनु, आँखा तानिनु जस्ता रहेको डा लिम्बुको भनाई छ । 

न्यूनदृष्टी वा दृष्टिविहीनका कारणले नवबालबालिकाहरूमा स्नायु र शाररीक विकासमा नकारात्मक असर पर्ने उनको दाबी छ । न्युनदृष्टीले स्कुले बालबालिकाको पढाइमा कमजोरी हुनुको साथै स्कुल शिक्षा पुरा नहुने जोखिम बढी हुने उनको भनाई छ ।

बस्यकहरु आफ्नो दैनिकी जागिर वा व्यवसायी नियमित रूपमा गर्न नसक्दा व्यक्ति र सिङ्गो परिवारमा गम्भीर आर्थिक तथा मानसिक सङ्कट आइपर्ने गरेको डा. लिम्बुले बताए । त्यसो हुनाले न्यूनदृष्टी वा दृष्टिविहीनको कारणले हाम्रो समाज, देश र विश्व मानसिक स्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उनले प्रष्ट पारेका छन् ।