धरान : दशैं, तिहार र छठको अवसर पारेर युवाहरूको ढुकढुकी, नेपालको चर्चित कलाकार सविन राई आफ्नो टिम सहित लाइभ प्रस्तुतिका लागि धरानको वगरकोट आउने भएका छन् ।

सविन राई आफ्नो ब्यान्ड टिम द फराओ सहित यही शनिवार एमएच लाउन्ज एन्ड वारमा आउन लागेका हुन । लकडाउनका कारण लामो समयको सन्नाटालाई चिर्दै सविन राई एन्ड फराओ ब्यान्डले वगरकोट तताउन लागेको हो ।

धरानको नाइट लाइफ स्थलको रूपमा चिनिने धरान-१५ स्थित वगरकोटमा चाडपर्वको वेला राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले वगरकोटमा उपस्थित पाहुनाहरूलाई मनोरञ्जन गराउँदै आइरहेका थिए । साँझ भए पछि लाइभ म्युजिकले वगरकोट गुञ्जायमान हुन्थे तर लकडाउनले गर्दा सुनसान वनेको थियो वगरकोट ।

यसैलाई चिर्दै वगरकोट अव पुरानै अवस्थामा फर्किसकेको सन्देश दिदैं पाहुनाहरूलाई निमन्त्रणा गर्नका लागि सिग्नेचरको संयोजनमा स्टेज पर्फमर किङ्गले चर्चित सविन राई एन्ड टिमलाई ल्याउन लागिएको एमएच लाउन्जका प्रोप्राइटर जीवन मन्याङ्गवो लिम्बुले जानकारी दिए।

राई सँगै धरानका चर्चित ब्यान्डहरूको प्रस्तुति समेत रहने साङ्गीतिक कार्यक्रम साँझ ७ बजे देखि राति १० बजे सम्म हुने लिम्बुले बताए।