धरान : धरान उपमहानगरपालिकाको महिला खेलाडीहरू उपमेयर कप फुटबल प्रतियोगिताको लागि काठमाडौँ प्रस्थान गरेका छन्।

ललितपुरको सातबाटो स्थित एन्फाद्वारा सञ्चालन भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको लागि मङ्गबार काठमाडौँ प्रस्थान गरेका हुन्। मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राई, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, शिक्षा तथा खेलकुद शाखा प्रमुख रत्न कटुवालले खेलाडीहरूलाई फुल माला लगाएर बिदाइ गरेका थिए ।

महिला खेलाडीहरू जिनु राई, सुस्मिता राई, आयुशा राई, समीक्षा मगर, प्रतीक्षा राई, सुमित्रा मगर, अन्जु प्रधान, टेरेसा मगर, सुमिना मगर, आयुना लिम्बु, आशिका बोहोरा, कोपिला लिम्बु, बबिता विश्वकर्मा, रमिला राई, ओङ्बुहाङमा सुबरा राई, सीमा कुमारी आले, तान्छु लिम्बु, अशिक्षा राई, आरती खवास, सुस्मिता लिम्बु काठमाडौँ प्रस्थान गरेका छन् । यस्तै उनीहरूको साथमा उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राई, नगर खेलकुद विकास समितिका सदस्य सतिश केसी, महिला फुटबल प्रशिक्षक भगवती राना मगर र डिल्लीराम श्रेष्ठ गएका छन् ।

मेयर राईले खेलाडीहरूलाई जितको शुभकामना दिँदै इतिहासमै पहिलो पटक धरान उपमहानगरपालिकाको नेतृत्व गरेर महिला खेलाडीहरू फुटबल प्रतियोगितामा सहभागी हुन गएको बताए । धरानले कार्तिक ११ गते बिहीबार दिउँसो ३ बजे सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने कार्तिक १५ गते दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।