इटहरी : नेकपा एमालेको पालिका अधिवेशन जारी रहेको बेला सुनसरीमा भने किचलो उत्पन्न भएको छ। प्रदेश १ इन्चार्ज तथा मुख्यमन्त्री भीम आचार्य र सुनसरी अध्यक्ष रेवतिरमण भण्डारीको स्वार्थको कारण किचलो सुरु भएको हो।

२०७४ अघिको एमालेमा माधव नेपाल समूहमै रहेका दुवै नेता अहिले ओली समूहमा छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि आचार्य सँग असन्तुष्ट रहेका भण्डारी ओली समूहमा प्रवेश गरेका थिए । त्यसलगत्तै भएको प्रदेश १ एमाले संसदीय दलको निर्वाचनमा आचार्यलाई हराउन भण्डारीको महत्त्वपूर्ण भूमिका देखियो।

एमाले भित्र केन्द्रीयस्तरमा कुनै टिम नभए पनि जिल्लास्तरमा स्वार्थ बाझिएपछि गुट उपगुट सुरु भएको छ। सुनसरीमा आचार्य र भण्डारीको दुई समूह सक्रिय देखिएको छ। यस बिचमा टिकट नदिएको आक्रोश पालेका भण्डारीले आचार्य विरुद्धमा माहौल बनाउन लागी परे ।

नेकपा विभाजन भएर एमाले पुरानै अवस्थामा फर्किएपछि केन्द्रीय अध्यक्ष ओलीले भण्डारीलाई सुनसरी अध्यक्ष चयन गरे । २०७५ जेठ २ अघि अध्यक्ष रहेका आचार्य समूहका रमेश बस्नेतले आफू अध्यक्ष भएको दाबी गर्दै आएका छन् । जेठ दुईमा पार्टीलाई फर्काउने सहमति कार्यान्वयन हुनुपर्ने आचार्य समूहका बस्नेतको माग छ ।

तथापि सुनसरीमा भण्डारी नेतृत्वको कमिटीले अधिवेशन चलाइरहेको छ। उता आचार्य समूहले पनि धरानका ६ वटा वडामा छुट्टै कमिटी बिस्तार गरेको छ। आचार्य समूहबाट धरान उपमहानगर कमिटीको अध्यक्षमा नारायण सुवेदी सर्वसम्मत चयन भएका छन् । सुवेदीको नेतृत्वमा मंगलबार नै सर्वसम्मत नेतृत्व चयन भएको हो । उता संस्थापन भण्डारी समूहको अध्यक्षमा हर्कजंग एभेङ चयन भएका छन् । धरान पछि इनरुवाको एउटा वडामा पनि समानान्तर कमिटी गठन भएको छ।

इटहरी उपमहानगरपालिमा पनि भण्डारी सँग असन्तुष्ट समूह र आचार्य समूह एक भएका छन् । भण्डारीले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै उनीहरू एक भएका हुन् । बुधवार अबेर सम्म सहमतिको प्रयास भए पनि कुनै उपलब्धि हुन सकेन । बिहान दुर्गा पार्टी प्यालेसमा बैठक बसेर आचार्य समूहले भण्डारी विरुद्ध मोर्चा बन्दी गर्ने तयारी थालेको छ । त्यससँगै सहमति हुने सम्भावना टर्दै गएको छ।

आचार्य निकट मानिएका मेयर द्वारीकलाल चौधरी, रामप्रसाद चौलागाई, डम्बर सुवेदी, भीम प्रसाद सुवेदी, रमेश बस्नेत, धर्म निरौला लगायत नेताहरूको भेलाले निर्वाचनमा जाने योजना बनाएका हुन् । ओली समूह निकट अध्यक्षका दाबेदार याम कुमार सुब्बाको पक्षमा आचार्य समूहले सहमति जनाएको छैन । बुधवार सुरु भएको बन्द सत्रमा निर्वाचनमै जानुपर्ने माहौल बढेपछि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुने देखिएको छ।

प्रदेश सदस्य सर्वध्वज सावाको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । सो समितिले निर्वाचन गर्ने वा सहमतिमा जाने बारे ठोस निर्णय गर्ने बताइएको छ ।
एमाले सुनसरीका सह इन्चार्ज तथा प्रदेश सदस्य तैयव हुसेन आचार्य समूहले गरेको गतिविधि केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सम्म पुगेको बताए । धरान र इनरुवामा भएको समानान्तर कमिटीलाई मान्यता दिन नसकिने उनको भनाई छ । भण्डारी नेतृत्वको कमिटीले गरेका निर्णय र अधिवेशन मात्र मान्य हुने उनको जिकिर छ।

ताप्लेजुङमा पनि समस्या

उता ताप्लेजुङमा पनि समानान्तर गतिविधि सुरु भएको छ। प्रदेश १ का सामाजिक विकाश मन्त्री समेत रहेका बलबहादुर साम्सुहाङले आचार्यको पक्षमा समानान्तर गतिविधि सञ्चालन गरेका हुन् । सुरुवात देखी नै माधव नेपाल समूहमा सक्रिय उनी एमाले विभाजन भएपछि आचार्यकै निकटमा रहे । आचार्यका विश्वासपात्र मानिएका साम्सुहाङले ओलीले तोकेर पठाएका भूपेन्द्र थेबेको कमिटीलाई मान्यता नदिने बताएका छन् । अहिलेको एमाले १० बुँदे सहमतिको जगमा एकता भएको स्मरण गराउँदै उनले कसैले पनि विगत भुल्न नहुने चेतावनी दिए । पार्टीलाई चलायमान बनाउन सहमति र एकता आवश्यक भए जस्तै सहमति कार्यान्वयन पनि हुनुपर्ने उनको भनाई छ । जेठ दुई अगाडी जिल्ला अध्यक्ष आफै भएकाले आगामी अधिवेशनसम्म नेतृत्व गर्न पाउनुपर्ने उनको अडान छ।

उता ओली निकट थेबे कमिटीले भने जेठ दुईलाई कार्यनय गरे पनि आफ्नै नेतृत्वमा अधिवेशन हुनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले आफैलाई चयन गरेको बताउँदै उनले ताप्लेजुङमा सहमतिमै अधिवेशन सम्पन्न हुने बताए । प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरे अहिले कुनै पक्ष विपक्ष बिच प्रतिस्पर्धा नभएकाले सबै संस्थापन पक्षीय नेताहरू बिच प्रतिस्पर्धा भएको बताए । यो लोकतान्त्रिक पद्धतिको सुन्दरता भएको बताउँदै उनले समानान्तर गतिविधि गर्नेलाई पार्टीले मूल्याङ्कन गर्ने तर निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने जनाए।