धरान : ड्रिम मोडलिङ एजेन्सी इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको जुनियर मिस धरान-२०२१ को उपाधिका लागी २३ जना बालिकाहरू भिड्ने भएका छन् ।

यही कार्तिक १३ गते शनिवार धरान स्थित बीपी प्रतिष्ठानको दसरा हलमा दिउँसो १ बजेबाट फिनाले हुने पत्रकार सम्मेलनमा प्रालिका सिइओ सौरभमान भण्डारीले जानकारी दिए ।

'बालिकाहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जुनियर मिस धरान आयोजना गरिएको हो।' भण्डारीले भने- 'प्रतियोगितामा सहभागी २३ जना बालिकाहरू हाल बन्द प्रशिक्षणमा रहेको उनीहरूको क्षमता विकासकालागि विभिन्न तालीमहरू भइरहेको छ ।'

धरानमा पहिलो पटक हुन लागेको प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ५ लाख रुपैयाँ बराबरको बिमा प्राप्त गर्ने भण्डारीले बताए। त्यस्तै फस्ट रनरअपले १० हजार रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बिमा र सेकेन्ड रनरअपले नगद ५ हजार रुपैयाँ सहित २ लाख रुपैयाँको बिमा प्राप्त गर्ने उनले जनाए ।

गत फागुनदेखि नै सुरु भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएर पुनः भदौ २२ गतेदेखि बन्द परीक्षण सुरु गरिएको कार्यक्रम संयोजक निश्चल पलिखेले जानकारी दिए । ६ देखि १४ वर्ष सम्मका बालिकाहरू सहभागी रहेको प्रतियोगितामा विजेताहरू बाहेक १२ वटा अन्य टाइटलमा समेत पुरस्कृत हुने पलिखेले बताए ।