धरान : तरहरा स्पोर्टिङ्ग क्लब तरहरा द्वारा आयोजित एक दिने थ्री अन थ्री महिला पुरुष बास्केटबल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटबल टिमले जितेको छ । 

फाइनल खेलमा पुरुष तर्फ हाम्रो कलेक्सनले धरानकै व्रदर्सलाई र महिला तर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन । फाइनल खेलमा कलेक्सनले १७-९ र यलम्वरले १२-५ अङ्कको अन्तरले पराजित गर्दै फाइनल खेलमा विजय प्राप्त गरेका थिए ।

उपाधि सँगै पुरुष तर्फका विजेताले नगद दश हजार र महिला तर्फका विजेताले नगद ५ हजार रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । खेलको उत्कृष्ट खेलाडी पुरुष तर्फ व्रदर्सका सर्वोधन राई र महिला तर्फ यलम्वरका लियालिसा श्रेष्ठ घोषित भए । उनीहरूलाई प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका सभाध्यक्ष एवं आयोजक क्लबका अध्यक्ष रवीन्द्र भट्टराई, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, कार्यक्रमका सहयोगी स्वरूप इन्जिनियरिङका सञ्चालक सुरेश राई, क्लबका सल्लाहकार रोशन रेग्मी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुरुष तर्फ हाम्रो कलेक्सनले मुन साइनलाई ११-६ र व्रदर्सले तरहरा स्पोर्टिङ्गलाई ९-८ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

त्यस्तै गरी महिला तर्फ मिराकल एले आइडल स्कुललाई ३-२ र यलम्वरले मिराकल वि टिमलाई ७ -५ अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।